एमाले त्यागेका जोशी भन्छन्- ‘अपमानित भएर बस्न सकिनँ’

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय सदस्यबाट राजीनामा गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका नेता भानुभक्त जोशीले अपमानित भएर एमालेमा बस्न नसकेको बताएका छन् । बिहीबार (आज) माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गरेका जोशीले भने, ‘अपमानित भएर बस्नुभन्दा बाहिरिनै राम्रो भनेर यो निर्णय लिएँ ।’

एमालेमा व्यक्तिवाद हाबी भएको जोशीको भनाइ थियो । नेतृत्वबाटै पार्टी चलाउने ढङ्ग नभएको जोशीले बताए । ‘धेरै कुराहरू भए,’ जोशीले भने, ‘तर, नेतृत्वबाटै पार्टीलाई कसरी लाने भन्नेलगायतका विषयमा छिनोफानो भएन । यो समस्या हो । पार्टी व्यक्तिकरण गर्न खोजियो ।’

यस्तै जोशीले एमालेमा १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाए । भदौ ८ गते बसेको केन्द्रीय कमिटी र १० गते बसेको स्थायी कमिटीले १० बुँदेलाई अनुमोदनसमेत गरेको तर, कार्यान्वयन नभएको जोशीले बताए । ‘भदौ १३ गते अपानि आयो । त्यसमा धेरै कुराहरू थिए । तर, त्यसको पनि कार्यान्वयन नै भएन । त्यहाँ मूलतः पार्टी जेठ २ मा जाने भन्ने थियो । तर, हामीले भनेको जनसंगठनदेखि लिएर पार्टीका सम्पूर्ण कमिटीहरू हो । त्यो भएन । अहिले त १० बुँदे पनि कहाँ गयो थाहा छैन,’ जोशीले भनेका छन् ।

यस्नै जोशीले अन्य नेताहरूसमेत एकीकृत समाजवादीमा आउन सक्ने बताए । ‘अन्य साथीहरू पनि आउन सक्नुहुन्छ । उहाँहरूले केही समय विचार गरौँ भनेर भनिराख्नुभएको छ,’ जोशीले भने, ‘पार्टी साह्रै पूर्वाग्रही भयो ।’

जोशीले आफूले राजनीतिक अपमान सहन नसकेर पार्टी परित्याग गरेको बताए । जोशीले एमाले लम्पसार परेको टिप्पणी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *