पत्रकारको हकहितका लागि महासंघद्वारा धर्ना

काठमाडौँ । श्रमजिवी पत्रकारका पक्षमा नेपाल पत्रकार महासंघले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ ।
जहाँ श्रम समस्या, त्यहाँ नेपाल पत्रकार महासंघ भन्ने नाराका साथ महासंघले बुधबार काठमाडौँमा बृहत ऐक्यवद्धता प्रदर्शन गरेको हो । चाडबाडका बेला समेत केही सञ्चारसंस्थाले पारिश्रमिक नदिएको, कोरोनाको कारण देखाउँदै संचारगृहबाट पत्रकारलाई निष्काशन गरेको भन्दै पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागी पत्रकारहरूले पेशागत अधिकार रक्षाका लागि आन्दोलन जारी छ, हामी पत्रकार चाहन्छौँ श्रम अधिकार, सञ्चार माध्यमभित्रको श्रम समस्या समाधान गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा महासंघका उपाध्यक्ष रमेश विष्टले अहिले आन्दोलनको सुरुवातमात्र भएको भन्दै पत्रकारको हकहितका लागि सञ्चारगृहका साथै सञ्चारगृहका सञ्चालकको घरको ढोकामा धर्ना दिने चेतावनी दिए । त्यस्तै महासंघका महासचिव रोशन पुरीले श्रम समस्या सम्बोधनका लागि महासंघले सरोकारवाला निकायको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको बताए ।

महासंघले पारिश्रमिकसँगै श्रमसँग जोडिएका अन्य समस्या समाधान हुनपर्ने माग अघि सारेको छ । त्यस्तै महासंघले अब पत्रकारको पक्षमा निरन्तर दबाबमुलक कार्यक्रम गर्ने समेत जनाएको छ ।








