शाहरुखका विवादहरू

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान हाल छोरा आर्यनको गिरफ्तारीलाई लिएर चर्चामा छन् । आर्यनलाई मुम्बईबाट गोवा जाने क्रममा लागूऔषधसहित प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।  आर्यनका वकिलले जमानतका लागि निवेदन दिए पनि अदालतले अस्वीकार गरेको छ । छोरा लागूऔषध केसमा परेसँगै शाहरुख पनि प्रश्नहरूले घेरिएका छन् । तर विवादमा पर्नु उनका लागि खासै नयाँ कुरा भने होइन ।

शाहरुखका केही विवादमा तानिएका विषयहरू :-

पाकिस्तानी क्रिकेटरको समर्थन लिँदा आलोचित
सन् २०१० मा रिलिज भएको चलचित्र ‘माई नेम इज खान’ रिलिज हुनुअघि यो विषयलाई लिएर अभिनेता खानलाई विवादमा तानिएको थियो । चलचित्र रिलिजभन्दा पहिला कोलकाता नाइट राइडर्सका मालिकसमेत रहेका उनले आईपीएलमा पाकिस्तानी खेलाडीलाई समेत स्थान दिनुपर्छ भनेका थिए । यो अभिव्यक्तिपछि उनलाई ‘पाकिस्तानको समर्थक’ भन्दै उनका चलचित्रमा प्रतिबन्ध लगाउन मागसमेत भएको थियो ।

‘असहिष्णु भारतीय’ भन्दा विवादित
सन् २०१४ मा भएको अर्को अन्तर्वार्तामा शाहरुखले भारतीय जनता असहिष्णु रहेको बताएका थिए । उनको यो अभिव्यक्तिसँगै दर्शकले चलचित्र ‘दिलवाले’ बन्द गर्न माग गरेका थिए । पछि उनले सफाइ दिएसँगै यो विवाद साम्य भयो ।

विवाहपछिको प्रेम
चलचित्र ‘डन २’ को छायाङ्कनमै शाहरुख र प्रियङ्का चोपडाको निकटता बढेको गाइँगुइँ हल्ला चल्न थालेको थियो । खबर शाहरुखको घरसम्म नै पुग्यो । यी दुईलाई हरबखत एकसाथ देखिँदा यो खबरमा अझ बल पुगेको थियो । यी दुईले सम्बन्धको विषयमा मुख खोलेनन्‚ बरु मिडियाका हरेक प्रश्नलाई बेवास्ता गर्दै अघि बढे ।

शाहरुखसँग सम्बन्ध विच्छेद गर्न चाहन्थिन् श्रीमती गौरी
शाहरुख र गौरीको प्रेम कहानी कुनै एक चलचित्रको कहानी झैँ लाग्छ । तर कुनै समय भने यी दुईको सम्बन्धमा चिसोपना आएको थियो । यसको कारण अरू केही नभएर प्रियङ्का नै थिइन् । सम्बन्ध यतिसम्म बिग्रियो कि गौरी सम्बन्ध विच्छेद गर्ने भन्दै घर छाडेर बाहिरिइन् । यो अवस्था बढ्दै गर्दा शाहरुखले प्रियङ्कासँगको सम्बन्ध अन्त्य गरी आफ्नो वैवाहिक जीवन बचाएका थिए ।

रङ्गशालाका सुरक्षा गार्डसँगको झगडा
सन् २०१२ मा क्रिकेट रङ्गशालामा रमाइलो गर्दा समस्यामा परेका थिए, शाहरुख । सुरक्षा गार्डले शाहरुखले मदिरा खाएर आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएका थिए । शाहरुखले उत्सव मनाउँदै गर्दा रङ्गशालाको लाइट बन्द गरेको भन्दै गार्डसँग झगडा गरेका थिए । पछि भने आफ्ना सन्तानहरूसँग दुर्व्यवहार गरेकाले गार्डसँग झगडा गरेको उनले स्पष्टीकरण दिए । यो घटनापछि क्रिकेट एसोसिएसनले उनीविरुद्ध उजुरी दिएको थियो भने रङ्गशालामा आउनसमेत रोक लगाइएको थियो ।

फराह खानका श्रीमानमाथि आक्रमण
सदैव कुल देखिने शाहरुखले चलचित्र रावणको पार्टीमा फराह खानका पति शिरीष कुन्दरमाथि हात उठाएका थिए । पार्टीमा शिरीषले चलचित्रबारे ठट्टा गर्दा उनले हात हालेका थिए । सञ्जय दत्त पनि उपस्थित रहेको उक्त पार्टीमा उपस्थित अन्य धेरैले समेत शाहरुखको चलचित्रमाथि ठट्टा गरेका थिए । यही कारण फराह र शाहरुखको सम्बन्धमा समेत ‘दरार’ आएको थियो ।

सलमानसँगको झगडा
शाहरुख र सलमान खान एक समय मित्र थिए । तर यी दुईको सम्बन्ध बिचमा बिग्रिएको थियो । एउटा पार्टीमा शाहरुखले सलमानको ऐश्वर्या रायसँगको सम्बन्धलाई लिएर ठट्टा गरेका थिए । उक्त समय एक अर्काबीच हात हालाहालको स्थितिसमेत सिर्जना भएको थियो । यसपछि यी दुईको धेरै वर्षसम्म बोलचाल नै हरायो ।  अहिले भने उनीहरूको सम्बन्धमा सुधार आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *