सिटी र लिभरपुलले अङ्क बाँडे, टोटनह्यामको चौथो जित

काठमाडाैँ । इंग्लिस प्रिमियर लिगमा बहुप्रतिक्षित मानिएको लिभरपुल म्यानचेस्टर सिटीबीचको भिडन्तमा रोमाञ्चक बराबरी भएको छ । लिभरपुलको घरेलु मैदानमा भएको भिडन्तमा दुवै टीमले २-२ गोलको सनसनीपूर्ण बराबरी खेले ।

सबै चार गोल दोस्रो हाफमा सम्भव भयो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा लिभरपुलले साडियो मानेको गोलबाट अग्रता लियो । ५९ औं मिनेटमा मोहम्मद सलाहले मध्य भाग भन्दा केही अगाडिबाट दिएको आकर्षक पासलाई मानेले कुनै गल्ती नगरी गोलमा परिणत गर्दा घरेलु समर्थक उत्साहित भएका थिए ।

तर उसको अग्रता लामो समय टिक्न सकेन । १० मिनेट पछि नै सिटीका फिलिप फोडेनले गाव्रियल जेससको पासलाई अफ कर्नरबाट गरेको प्रहार गोलमा परिणत हुँदा सिटीले बराबरी गर्न सफल भयो ।

निकै रोमाञ्चक बनेको दोस्रो हाफमा पुन लिभरपुलले सालहको गोलबाट अग्रता लियो । ७६ औ मिनेटमा सालहले सिटीका डिफेन्डर बिट गर्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । तर पुन सिटी खेलमा फर्कने क्रममा ८१ औ मिनेटमा बराबरी गर्न सफल भयो । केभिन डि ब्रुनेले गरेको शक्तिशाली प्रहार गोलमा परिणत हुँदा खेल २-२ को बराबरीमा सकिएको थियो ।

आइतबार नै भएको खेलमा टोटनह्यामले एस्टन भिल्लालाई पराजित गर्दै प्रमियर लिगमा चौथो जित निकाल्यो । भिल्लामाथि २-१ को जित निकाल्ने क्रममा २७औं मिनेटमा पियरी होइजबर्गले पहिलो गोल गरे ।

यद्यपि ६७औं मिनेटमा ओल्ली वाटकिन्सले एस्टन भिल्लालाई खेलमा फर्काउँदै बराबरी गोल गरे । खेल सकिन ११ मिनेट बाँकी रहँदा एस्टन भिल्लाका टार्गेटले आत्मघाती गोल गर्दा टोटनह्यामले जित पक्का गरेको थियो ।

जितपछि सात खेलमा १२ अङ्क जोडेको टोटनह्याम आठौं स्थानमा छ जुन शीर्ष स्थानको चेल्सी भन्दा चार अङ्क कम हो । प्रिमियर लिग अन्तर्गत आइतबार भएको अर्को खेलमा वेस्ट ह्यामले ब्रेन्टफोर्डलाई २-१ ले हरायो । क्रिस्टल प्यालेस र लेस्टर सिटीले २-२ गोलको बराबरी खेले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =