ओलीको प्रतिवेदन : प्रचण्डको चर्को आलोचना

काठमाडौँ । नेकपा (एमाले) को विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे । ४४ पृष्ठ लामो उक्त प्रतिवेदनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आलोचनाका लागि टन्नै शब्द खर्च गरिएका छन् । ओलीको प्रतिवेदनको समाप्ती ‘सके पार्टी कब्जा गर्ने, नसके विभाजन गर्ने’ प्रचण्डको सोच र व्यवहारको चर्को आलोचना गर्दै भएको छ । जहाँ, प्रचण्डकै कारण तत्कालीन नेकपा पूर्ववत् अवस्था फर्किएकोसमेत औंल्याइएको छ ।

प्रतिवेदनमा ओलीले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा चीन भ्रमणबाट फर्किनेबित्तिकै प्रचण्ड, माधवकुमार नेपाललगायतले बाह्य शक्तिको प्रभावमा परी आफूलाई हटाउन खोजेको आरोप लगाएका छन् । ओलीले प्रतिवेदनमार्फत भनेका छन्, ‘त्यो षड्यन्त्र प्रचण्डलगायत नेताहरूभित्र निहीत अवसरवाद, विभाजन र बाह्य शक्तिको सेवा गर्ने चरित्रको भद्दा दृश्य थियो ।’

प्रतिवेदनमा ओलीले प्रचण्डलगायतले आफूविरुद्ध घेराबन्दी गरेको उल्लेख गरेका छन् । ०७४ सालको निर्वाचनमा पनि वामगठबन्धन बनाएर उत्साहजनक परिणाम हासिल गरेको भए पनि प्रचण्डले भने कांग्रेससँग सरकार बनाएर एमालेलाई एक्लो पार्ने प्रयास गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘जुन अवसरवाद र अनैतिक राजनीतिको भद्दा अभिव्यक्ति थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘मधेसकेन्द्रित दलहरु संसद्को सबैभन्दा ठूलो दल एमालेलाई बाहिर राखेर सरकार बनाउन नहुने मान्यतामा उभिएपछि मात्रै प्रचण्डको बाध्यात्मक समर्थन एमाले नेतृत्वको सरकारलाई प्राप्त भएको थियो ।’

प्रतिवेदनको पछिल्लो आधातिर ओली प्रचण्डसँग झनै चिढिएका छन् । ओलीले नेकपामा हुँदा प्रचण्डले गुट बनाएको उल्लेख गरेका छन् । उनले भनेका छन्— ‘०७६ मंसिरमा कार्यकारी अधिकारसहितको जिम्मेवारी पाएपछि प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्वार्टर बनाए । केन्द्रीय सचिवालय, विचार, पार्टी सञ्चालन र राजनीतिको केन्द्र होइन, कुण्ठा, किचलो र अन्त्यहीन गुटबन्दीको थलो बन्यो । अन्यत्रै बसेर गुटगत निर्णय गर्ने र त्यसैलाई सदर गर्न दबाब दिन थालियो। पार्टीमा बहुकेन्द्र खडा भए ।’

यसबाहेक ओलीले खासगरी पछिल्लो राजनीतिक घटनाक्रमहरूमा प्रचण्डको नाम छुटाएका छैनन् । प्रचण्डकै कारण पछिल्लो नराम्रो राजनीतिक नजीर बसेको ओलीको प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘प्रतिनिधि सभा विघटनको अघिल्लो दिन (पुस ४ गते) प्रचण्ड निवासमै पुगेर पनि पार्टी एकता जोगाउन आग्रह गरियो । तर पार्टीको मूल नेतृत्वलाई अपमानपूर्वक पदच्यूत गरेर पार्टी कब्जा गर्ने र देशी विदेशी प्रतिक्रियावादीहरुको इच्छापूर्ति गर्न बचनबद्ध नेताहरु सहमत भएनन्,’ प्रतिवेदनमा भनिएको छ ।

ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा माधवकुमार नेपाललाई समेत छाडेका छैनन् । पार्टी फुटाएर नेपालले कम्युनिष्ट आन्दोलनलाई चुनौती दिएको ओलीले बताएका छन् । यस्तै ओलीले नेपालको साथ छाड्ने नेताहरूलाई धन्यवादसमेत दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *