जसपा, नेपालले सरकारलाई दिएको समर्थनले निरन्तरता पाउँछ : मनिष सुमन (भिडिओ)

काठमाडौं । पार्टी विभाजनको मारमा परेको जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री समेत रहनुभएका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच मंगलवार बिहान बालुवाटारमा भेटवार्तामा पनि सरकारलाई दिइएको समर्थनलाई निरन्तरता दिने निष्कर्षमा पुगिएको पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।

उनले सरकारमा आफूहरु रहेको र त्यसलाई निरन्तरता दिएर जाने बताए । वर्तमान सत्ता गठबन्धनको जग आफूहरुले बनाएकाले पनि सरकारलाई निरन्तरता दिने कुरामा आफूहरु प्रतिवद्ध रहेको प्रवक्ता सुमनको भनाई थियो ।

उनले पार्टीबाट फुटेर गएकाहरुले बरु सरकारबाट हट्न सक्ने जिकिर गरे ।

उनले भने– ‘आजै पनि हाम्रो केन्द्रिय अध्यक्ष माननीय उपेन्द्र यादवजीले सम्माननीय प्रधानमन्त्रीज्युसँग बिहान बालुवाटारमा भेट भएको हो । भेटघाटको सन्दर्भमा हाम्रो केन्द्रिय अध्यक्षजीले पनि भन्नुभएको हो–तपाईलाई केही अफ्ठ्यारो छ कि ? केही अफ्ठ्यारो छ भन्ने भनिदिनुस् हामी मार्ग प्रशस्त गरिदिन्छौं भन्दा उहाँले होइन मलाई केही पनि अफ्ठ्यारो छैन । ठिक छ भनेपछि । तपाईहरुको साथ समर्थन हामीलाई रहिरहोस् भनेर उहाँले फेरि पुनर्ताजगी गर्नुभयो । जनता समाजवादी पार्टीको तर्फबाट पनि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिइएको समर्थन निरन्तर रहनेछ । हामी सरकारमा छँदै थियो । फागुन ११ गते १० बुँदे एउटा कागजमा ४ पार्टीले एउटा हस्ताक्षर गरेर जग हालेको छौँ । त्यही गठबन्धन अहिलेसम्म चलिरहेको छ । ७ जना सांसदहरुले हाम्रो पार्टी फुटाउँछौ भनेर गए । फुटाएर गए । हामी त सँगै छौं । हामी सरकारसँगै छौं । बरु फुटेर जानेहरु टुट्न सक्छन् । हामी त छँदैछौं ।’

अध्यक्ष यादवले पार्टीका ७ जना सांसदहरुले जनता समाजवादी पार्टी नामक नयाँ दल गठन गरेपछि उत्पन्न परिस्थितिबारेबारे मंगलवार ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा पार्टीका नेता, कार्यकर्ताहरुसँग अनौपचारिक छलफल गरिरहेका छन् ।

प्रवक्ता सुमनले वैशाख २६ गते (भोलि) बुधवार बिहान ११ बजे पार्टीमा विभाजनपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन सो पार्टीले पत्रकार सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *