मन्त्रिपरिषद् बैठक बस्दै, अध्यादेश खारेजको सिफारिस गर्न सक्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न बैठक बोलाइएको एक मन्त्रीले बताए । बैठक सोमबार (आज) अपराह्न ४ बजे बस्नेगरी बोलाइएको हो ।

मन्त्रिपरिषद्ले अध्यादेश खारेज गर्ने निर्णय गरेलगत्तै खारेजको सिफारिस राष्ट्रपतिसमक्ष गर्ने तयारी गरिएको छ । सत्तासाझेदारी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि अध्यादेश फिर्ता लिने तयारी भएको पार्टी स्थायी कमिटी बैठकमा सोमबार बिहान ब्रिफिङ्ग गरेका थिए ।

सरकारले गत साउन २ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । संविधानअनुसार संसद्को अधिवेशन सञ्चालनमा आएको पहिलो बैठकमा अध्यादेश पेस गर्नुपर्छ । अध्यादेश पेस भएसँगै ६० दिनभित्र सरकारले प्रतिस्थापन विधेयक ल्याउन सक्ने व्यवस्था छ ।

यसपछि चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने विस्तार हुने नेताहरूले बताएका छन् । सत्तारुढ गठबन्धनमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले अध्यादेशलाई देखाएर सरकारमा सामेल भइहाल्न सकेका छैनन् । एकीकृत समाजवादी अध्यादेश चाँडै निष्क्रिय हुन नहुने मान्यता राख्छ भने जसपा चाँडै अध्यादेश निष्क्रिय हुनुपर्ने अडानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *