श्रुति श्रेष्ठको नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिति चयन

काठमाडौँ । श्रुति श्रेष्ठको नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सिनामङ्गलस्थित नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा सम्पन्न भएको नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लब, नेपालको एघारौँ साधारणसभामार्फत् नयाँ कार्यसमिति चयन भएको हो ।

निर्वाचन अधिवेशनका रुपमा समेत सम्पन्न साधारणसभाले आगामी दुई वर्षका लागि श्रेष्ठको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा श्रेष्ठसहित उपाध्यक्षमा नेपाल रिपब्लिक मिडियाका दिपेश श्रेष्ठ, महासचिवमा कान्तिपुर पब्लिकेसनका प्रकाशचन्द्र तिमिल्सेना र कोषाध्यक्षमा राजधानी दैनिकका द्वारिकाप्रसाद काफ्ले, सचिवमा नयाँ पत्रिकाका अमूल थापा निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी गोरखापत्रका विकास द्वारे प्रवक्तामा चयन भएका छन् भने सदस्यहरूमा कान्तिपुरका अंगद ढकाल, सेतोपाटी डट कमकी निशा भण्डारी, देशसञ्चार डट कमकी वर्षा शाह, दी हिमालय टाईम्सका स्कन्द गौतम, अन्नपूर्ण पोस्टका दिपेन श्रेष्ठ र स्वतन्त्र फोटोपत्रकार लक्ष्मीप्रसाद ङाखुशी निर्विरोध चयन भएका छन् ।

निर्वाचित पदाधिकारीहरुलाई शनिबारै एक समारोहका बीच निर्वाचन समितिका संयोजक एआईपीएसका कोषाध्यक्ष तथा अधिवक्ता निरञ्जन राजवंशी, वरिष्ठ फोटोपत्रकारहरू नरेन्द्र श्रेष्ठ, किरण पाण्डे, भास्वर ओझा तथा क्लबका पूर्वअध्यक्ष प्रकाश माथेमा, पूर्वकार्यवाहक अध्यक्ष केशवराज थोकरले प्रमाणपत्र प्रदान गरेका थिए ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा एसोसियट प्रदेशका महासचिव रोयल आचार्य, क्लबका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विकास कार्की र क्लबका पूर्वअध्यक्ष प्रकास माथेमाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *