सबै स्मार्ट फोनको चार्जर एउटै प्रकारको बनाउनु पर्ने प्रस्ताव

काठमाडौँ । युरोपेली आयोगबाट प्रस्तावित नयाँ नियमले मोबाइल फोन तथा उपकरण उत्पादकहरूलाई सबै स्मार्टफोनहरूमा प्रयोग हुन सक्ने एकै प्रकारको अर्थात साझा किसिमको चार्जर बनाउन बाध्य पार्नेछ ।

यसले उपभोक्ताहरूलाई हरेक पटक नयाँ फोन किन्दा नयाँ चार्जर पनि किन्नुपर्ने वाध्यता हट्ने र इलेक्ट्रोनिक फोहोर नियन्त्रित हुने ठानिएको छ । तर एपल कम्पनीले भने उक्त नियमको आलोचना गरेको छ । युरोपेली आयोगले मोबाइल फोन, ट्याबलेट तथा हेडफोनहरूका निम्ति साझा चार्जरसम्बन्धी मस्यौदा कानुन पेश गरेको छ ।

जस अनुसार सबै मोबाइल चार्जरहरू युएसबि-सि कनेक्टर प्रकारको हुनुपर्ने नियम लागु हुनेछ । एपल कम्पनीले सो निर्णयले संसारभरि उपभोक्तालाई हानि हुने बताएको छ । एकजना इयु आयुक्त टियरी ब्रेटनले त्यस्ता युनिभर्सल चार्जरले द्रुत गतिमा परिवर्तनशील प्रविधिमा तादात्म्य ल्याउने तथा उपभोक्ताहरूलाई चार्जर विना उपकरण किन्ने विकल्प मिल्ने बताए ।

तर उक्त योजनाका आलोचकहरू चाहिँ त्यसो गर्दा नवप्रवर्तन रोकिने आशङ्का गर्छन् । एपल कम्पनीले त्यस्तो निर्णय भए उसका दशौँ लाख उपकरण बेकामे हुने र थप इलेक्ट्रोनिक फोहोर निर्माण हुने चेतावनी दिएको छ । एक दशकदेखि इयुका कानुननिर्माताहरूले सबै उपकरणलाई उपयुक्त हुने स्ट्यान्डर्ड किसिमको चार्जरको वकालत गरिरहेका थिए जसले वातावरणलाई पनि राम्रो गर्ने र उपभोक्ताहरूलाई पनि सहज हुने ठानिन्छ ।

युरोपेली आयोगको अनुसन्धानले फालिएका तथा प्रयोगमा नआएका चार्जिङ् तारहरूका कारण हरेक वर्ष ११ हजार टन फोहोर उत्पादन हुने गरेको पाएको थियो । गत वर्ष युरोपेली संघमा ४२ करोड मोबाइल फोन तथा अन्य हाते उपकरण विक्री भएका थिए । औसतमा प्रत्येक व्यक्तिसँग तीनवटा फोन चार्जर रहने गरेको जसमध्ये २ वटा प्रयोगमा आउने गरेको पाइएको थियो ।

युरोपले ल्याएको नयाँ नियम लागु हुन भने केही वर्ष लाग्न सक्छ । उक्त नियममाथि पहिले युरोपेली संसद तथा राष्ट्रिय सरकारहरूले छलफल गर्नेछन् । सन् २०२२ मै यो प्रक्रिया सकिने आयोगको आशा छ । त्यसपछि ती नियमलाई देशका राष्ट्रिय कानुनहरूमा समाहित गर्न थप २ वर्ष उपलब्ध हुनेछ । –बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *