गगनको प्रश्न- के एमालेलाई संसद्‌प्रति घृणा लाग्न थालेको हो ?

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण आफूले संसद्‌मा सांसदको रुपमा भूमिका निर्वाह गर्न नपाएको बताएका छन् ।

एमालेले चालु अधिवेशन सुरु भएकै दिन अर्थात् २३ साउन २०७८ देखि प्रतिनिधिसभाका सबै बैठकमा नाराबाजी गर्दै आएको छ । नाराबाजीकै बीच बजेट र बजेट आश्रित विधेयकहरू प्रतिनिधि सभाबाट पारित भए । तर, एमालेका सांसदहरूको निरन्तरको नाराबाजीका कारण आफूले निर्वाचन क्षेत्रको समस्या संसदमा राख्न नपाएको, बजेटका विषयमा सरकारलाई भन्नैपर्ने विषयहरू भन्न नपाएको, बजेटमा रहेका विमतिहरू राख्न नपाएको सांसद थापाले गुनासो गरे ।

‘(संसदमा) टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था रह्यो‚’ बिहीबार प्रतिनिधिसभा बैठकपछि पूर्वमन्त्रीसमेत रहेका सांसद थापाले पत्रकारहरुसँग भने । व्यक्तिगत रुपमा केपी शर्मा ओलीलाई संसदसँग घृणा लाग्ने कुरा ओलीका कदमबाट पुष्टि भइसकेकोमा अब त्यो धारणा व्यक्तिबाट पार्टीमा पुग्यो भन्न कर लाग्ने अवस्था एमालेले सिर्जना गरेको उनको भनाइ छ ।

थापाको भनाइ जस्ताको तस्तै:
आज नेपाल कम्युनिस्ट पार्टी एमालेको कारणले गर्दा एमालेका सांसदले मात्र होइन, हामी कुनै पनि सांसदले संसदभित्र आफ्नो भूमिका निर्वाह गर्न पाएका छैनौं । मैले सांसद भएर यत्रो महत्वपुर्ण विधेयक (बजेट र बजेट आश्रित विधेयकहरु) पारित हुँदै गर्दा भूमिका निर्वाह गर्न पाइनँ, एउटा प्रश्न राख्न पाइनँ, आफ्नो मत राख्न पाइनँ । म टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था रह्यो । संसदभित्र बस्दै गर्दा मेरो मन कुँडिएको छ । मलाई राष्ट्र ऋण उठाउने विधेयकमा बोल्नु थियो, आर्थिक बिधेयकमा बोल्नु थियो । मेरा दर्जनौं कुरा सरकार सामु राख्नु थियो । मेरा दर्जनौं विमतिहरु थिए तर, नाराबाजी भइरहेको बीचमा मलाई बोल्न मिलेन ।

संसदभित्र नाराबाजी के का लागि ? संसदबाट बजेट पारित भयो, यो बजेटभित्र प्रमुख प्रतिपक्षी दलको हैसियतले उठाउनुपर्ने प्रश्नहरु छैनन् ? संसदलाई यसैगरी पंगु बनाइराख्ने ? एमालेले जुन विषय उठाएको छ के त्यो सभामुखले पुरा गर्न सक्नुहुन्छ ? सर्वोच्च अदालतमा बहस भइरहेको विषय संसदमा प्रवेश गर्न सक्छ ? संसद प्रवेश गर्न सक्दैन भन्ने एमालेलाई राम्रोसंग थाहा छ । तर, उहाँहरु नाराबाजी गरिरहनुभएको छ । यसले देखाउँछ– व्यक्तिगत रुपमा केपी शर्मा ओलीलाई संसदसंग घृणा लाग्छ । त्यो व्यक्तिको घृणा व्यक्तिबाट पार्टीमा पुग्यो भन्न कर लाग्छ ।
पूर्वप्रधानमन्त्री ओलीलाई संसद देख्नै हुन्न । जतिखेर संसदले प्रधानमन्त्री बनायो । उहाँले आफ्नो कार्यकालभरी संसदलाई हेप्नुभयो । संसदलाई बेवास्ता गर्नुभयो । संसद भंग गर्नुभयो, एक पटक होइन पटक/पटक । संसद पुनर्स्थापित भइसकेपछि उहाँलाई संसदसँग यति घृणा लाग्छ कि यो संसदलाई पंगु बनाउँदै हुनुहुन्छ । पूर्वप्रधानमन्त्री ओलीको संसदप्रतिको जुन धारणा छ, त्यो सिंगो एमालेको धारणा बनाउने कुरा नेकपा एमालेका लागि र नेपालको संसदका लागि पनि अत्यन्तै अप्रिय बन्न सक्छ ।

अहिले संसदको रबैया (नाराबाजी) के हो ? कल्ले पुरा गर्न सक्छ (एमालेको माग) ? हात्ती किनिदेउ हात्ती कनिदेउ, झोला किनिदेउ झोला किनिदेउ, हात्ती झोलामा कल्ले हाल्छ ? प्रतिपक्षले कहिलेबाही संसद बन्द गरेर प्रयोग गर्न सक्ने हतियारको पनि चरम दुरुपयोग भयो । अब त दुरुपयोग मात्र होइन निरपेक्ष जस्तो चरम दुरुपयोग । यो एमालेको गैरजिम्मेवारीपन होइन ? यो तरिकाबाट संसद चल्दै गर्दा यसले संसदीय पद्धतिको गरिमा राख्छ ? राख्दैन । प्रमुख प्रतिपक्षी दलको हैसियत के बनाइदिएको छ ? नारा, नाराबाजी गर्ने । लाज लागेर ठूलो ठूलो नेताहरु नारा लगाउन आउन छाड्नुभएको छ । नेकपा एमालेका ठूला ठूला सांसदहरु भाग्नुहुन्छ पछाडिको ढोकाबाट । लाज लाग्छ उहाँहरुलाई सामना गर्न । कल्ले आएर भन्न सक्नुहुन्छ कहिले सम्म यसरी संसद चलाउने ? एक दिन÷दुई दिन (नाराबाजी) चल्यो ठीक छ । तर, यसलाई अनन्तकालसम्म राख्ने हुन्छ र ? हुँदैन नी । आजभोलि त संसद आउन छाड्नुभयो एमालेका ठूलो नेताहरु । अरु सांसदहरु आउने नारा लगाउने जाने । विस्तारै विस्तारै यो बानी बस्दै जान्छ । यहि तरिकाबाट विधेयक आउने, यहि तरिकाबाट विधेयक पारित गर्दै जाँदै गर्दा संसदको गरिमा रहँदैन । संसदको गरिमा राख्न त सांसदलाई काम गर्ने ठाउँ दिने हो नि ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *