देउवाको कार्यशैलीको विरोध गर्दै उनकै गृहजिल्लामा कांग्रेसको रिले अनशन

धनगढी । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीको विरोध गर्दै उनकै गृहजिल्ला डडेल्धुरामा कांग्रेसका नेता तथा कार्यकर्ताले बिहीबारदेखि रिले अनशन सुरु गरेका छन् ।

जिल्ला कार्यसमितिसँग कुनै समन्वय नगरेर एकलौटी रुपमा प्रहरी परिचालन गरेर सम्पन्न गरिएको वडा अधिवेशन प्रक्रिया रद्द गर्न माग गर्दै रिले अनशन सुरु गरिएको डडेल्धुराका कार्यवाहक सभापति करुणाकर भट्टले बताए । बिनाकारण हटाइएका र आफूखुसी केन्द्रबाटै थप गरिएका क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याएर अधिवेशनको प्रक्रिया सुरुवात गर्न माग गरिएको उनले बताए ।

केन्द्रीय कार्यसमिति र केन्द्रीय निर्वाचन समितिमा औपचारिक जानकारी गराए पनि कुनै सुनुवाइ नहुँदा बाध्य भएर अनशन बस्नुपरेको उनले बताए । ‘धाँधलीपूर्ण ढंगबाट बाँडिएको क्रियाशील सदस्यताको आधारमा सम्पन्न वडा अधिवेशनलाई मान्यता नदिन हामीले केन्द्रीय समिति र निर्वाचन समिति दुवैलाई लिखित जानकारी पठाएको छौँ,’ कार्यवाहक सभापति भट्टले भने, ‘माग सुनुवाई भएपछि सत्याग्रह नै अन्तिम हतियार भएकाले अन्यायविरुद्ध अनशन बस्ने निर्णयमा पुगेका हौँ ।’

माग पूरा नहुन्जेलसम्म संघर्षका कार्यक्रमहरू जारी रहने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । जिल्लाबाट पठाइएको क्रियाशील सदस्यहरूको नाम काटेर पार्टी सभापति देउवाको निर्देशनमा केन्द्रबाट नाम थप गरिएको आरोप उनीहरूको छ ।

पार्टीको विधानविपरीत वडादेखि जिल्ला कार्यसमितिले पारित गरेर पठाएका चार सय ६० क्रियाशील सदस्यता हटाइएको र तीन सय १२ क्रियाशील सदस्यता जिल्लाको सिफारिसबिना नै थप गरिएको नेताहरू बताउँछन् ।

वडा अधिवेशन हुनुअघि नै भाद्र २२ गते नेपाली कांग्रेस डडेल्धुराको बैठकले क्रियाशील सदस्यता विवाद नटुङ्गिएसम्मका लागि अधिवेशनका सबै कार्यक्रमहरू स्थगन गर्ने निर्णय गरेको हो ।

तर जिल्ला कार्यसमितिको निर्णयविपरीत केन्द्रले खटाएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जिल्ला कार्यसमितिसँग कुनै समन्वय नगरेर भाद्र २५ गते एकपक्षीय कार्यकर्ताहरूको सहभागितामा वडा अधिवेशन सम्पन्न गरेका छन् ।

क्रियाशील सदस्यता विवाद नटुङ्ग्याएर वडा अधिवेशन प्रक्रिया अगाडि बढाएको भन्दै जिल्ला सभापति, उपसभापतिलगायतका पदाधिकारीहरूले वडा अधिवेशन बहिष्कार गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *