पारसले किन खेल्न चाहेनन् ईपीएल ?

नेपाली क्रिकेटमा पारस खड्का सर्वाधिक लोकप्रिय खेलाडी हुन् । पारसले नेपाली क्रिकेटलाई विश्वकप र एकदिवसीय मान्यता दिलाउँदा कप्तानका रुपमा महत्वपूर्ण जिम्मेवारी सम्हाले । अन्तरराष्ट्रिय क्रिकेटमै एक छाप छोड्न सफल उनी घरेलु क्रिकेटमा पनि सक्रिय रहे । टी-२० फ्रेन्चाइजहरू पनि खेले ।

पारसले गत अगस्टमा अन्तरराष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेसँगै दर्शक र समर्थकका लागि उनको प्रतीक्षा नै घरेलु फ्रेन्चाइजमात्र थिए । त्यसमा पनि पछिल्लो समय सर्वाधिक लोकप्रिय मानिएको तथा विदेशी भेट्रान खेलाडी भित्र्याइरहेको र पारिश्रमिक पनि ‘राम्रै’ रहेको एभरेस्ट प्रिमियर लिगमा पारसको खेल र कप्तानी देख्न पाइने धेरैलाई आशा थियो ।

तर विगतमा समेत सहभागी मात्र होइन‚ विराटनगर वारियर्सको कप्तानी नै गरेका पारसले एकाएक ईपीएल नखेल्ने निर्णय गरे । विराटनगरले टीमका खेलाडीको नाम सार्वजनिक गर्दा पारसको नाम नहुँदा धेरै छक्क परे । उनका समर्थक भने दुःखी भएका छन् । आखिर पारसले किन खेल्न चाहेनन् ईपीएल उनीहरूको चासो छ । तर उनले ईपीएल नखेल्नुका पछाडि पारस र विराटनगरको असमझदारी नभई यो प्रतियोगिताका सञ्चालक तथा संस्थापक आमिर अख्तरसँगको सम्बन्धलाई मुख्य रुपमा हेरिएको छ ।

विशेष गरेर पोखरा प्रिमियर लिगको आयोजनासँगै अख्तर असन्तुष्ट रहँदै आएका थिए । किनभने पोखरा प्रिमियर लिगमा छुम्बी लामा संलग्नता थियो । उनलाई पारस र कप्तान ज्ञानेन्द्र मल्लको सहयोग थियो । अख्तरको आरोप खेलाडी आफैँ ‘बिजनेश’मा लागेको र यसले अन्य फ्रेन्चाइजमा असर गर्न सक्छ भन्ने थियो । तर उनले असन्तुष्टि सार्वजनिक भने राखेका थिएनन् ।

तर गत साउनमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामासहित पारस खड्का तथा कप्तान ज्ञानेन्द्र मल्ल एक छलफलमा सहभागी भए । ‘बलियो नेपाल’ नामक अभियानले ‘क्लब हाउस’मा नेपाल सन् २०३९ सम्ममा क्रिकेट विश्वविजेता बन्न सक्छ ? भन्ने विषयमा छलफल चलाएको थियो । जसमा कप्तान ज्ञानेन्द्र, पूर्वकप्तान पारस, पूर्वक्रिकेटर शक्ति गौचन, महिला टिमकी कप्तान रूबिना क्षेत्री र क्यानका केन्द्रीय सदस्य छुम्बी लामा सहभागी हुने तय भयो ।

अख्तरको आपत्ति यसमै थियो । उनले क्यानलाई ईमेल लेख्दै बोर्ड सदस्य र राष्ट्रिय क्रिकेटरको स्वार्थ बाझिएको गम्भीर आरोप लगाए । उनले राष्ट्रिय क्रिकेटरले ‘व्यापारको एउटै मञ्च’ सेयर गरेको आरोप लगाउँदै छानबिन गर्न क्यानलाई ईमेल लेखे ।

अख्तरले क्रिकेटमा यस्ता नैतिक विषयमा प्रश्न उठाउनु उचित भएको भन्दै उनले ४८ घन्टाभित्र आफूले जवाफ चाहेको र जवाफ नआएमा उक्त ईमेल अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पनि पठाउने धम्कीसमेत दिए ।

उक्त समाचार सार्वजनिक भएलगत्तै लामासहित कप्तान ज्ञानेन्द्र र पूर्वकप्तान पारसले संयुक्त विज्ञप्ती जारी गर्दे आरोपको खण्डन गरे ।

पूर्वकप्तान पारसले फेसबुकमा स्टाटस लेख्दै विज्ञप्ति सेयर गरेका थिए । ‘राष्ट्रिय क्रिकेट टिमको दशकौँको कडा मेहनत र अथक प्रयासले नेपाली क्रिकेट आज यो अवस्थामा आइपुगेको छ । यो यात्रा उतारचढावपूर्ण रहेको सबैमा सर्वविदीतै छ । राष्ट्रलाई प्रतिनिधित्व गर्ने क्रममा मेरो प्रदर्शनमाथि प्रश्न उठे होलान्, जुन स्वभाविक हो । मैले सरल र सहज रूपमा ती प्रश्नलाई ह्रदयबाट आत्मसात् गरेको छु ।

तर, आजसम्म मेरो नियत र इमान्दारीतामाथि कसैले प्रश्न गरेको थिएन । नेपाली क्रिकेटबाट वर्षौदेखि लाभ लिइरहेका एक व्यक्तिले कपोलकल्पित र नियोजित ढंगबाट गलत भएको हुन सक्ने भन्दै मेरो, राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र क्यानका बोर्ड सदस्य छुम्बी लामाको नियत र इमानदारीतामा प्रश्न गरी प्रकाशित गरेको समाचारले मलाई अत्यन्तै दुखी बनाएको छ। यो समाचारको म खण्डन गर्दछु र कुनै प्रमाणबिना लगाएको यो गलत आरोप केवल बदनाम गराउने प्रयत्नमात्र हो । यसलाई यही अर्थमा बुझिदिनु हुन सम्पूर्ण क्रिकेट प्रेमी नेपालीमा आग्रह गर्दछु। यस्ता कपोलकल्पित र भ्रामक आरोपबाट म कति पनि विचलित हुने छैन । आगामी दिनमा अझ नेपाली क्रिकेटको विकास र विस्तारको लागि जस्तो सुकै मूल्य चुकाउन पनि तयार छु।‘ उनले फेसबुकमा लेखे ।

उनीहरुले सार्वजानिक गरेको विज्ञप्तीमा भनिएको छ ‘बलियो नेपाल एक गैरनाफामूलक संस्थाले सामाजिक सञ्जाल क्लब हाउसमा आयोजना गरेको क्रिकेट छलफल कार्यक्रममा सहभागी भएको विषयलाई आधार बनाएर हामी खेलाडी र नेपाल क्रिकेट संघका बोर्ड सदस्यमाथि सोधिएको प्रश्न निन्दनीय छ ।’ साथै उनले खेलाडीको चरित्रमाथि प्रश्न उठाएको भन्दै आपत्ति जनाए ।

विज्ञप्तीमा अगाडि भनिएको छ‚ ‘नेपालका लागि दुई दशक लामो समयदेखि क्रिकेट खेल्दै र टोलीको कप्तानी गर्दै आएका खेलाडीको चरित्रमाथि नै प्रश्न सोधिनु आफैँमा निच कार्य रहेको हाम्रो बुझाइ छ । प्रकाशित सो समाचारले खेलाडीहरू शक्ति गौचन, पारस खड्का, ज्ञानेन्द्र मल्ल र रुबिना क्षेत्रीको चरित्रमा दाग लगाउने काम गरेको छ ।’

यहि विषय सार्वजनिक भएसँगै पूर्वकप्तान पारस ईपिएलका मालिक अख्तरसँग चिडिएका छन् ।

पारसको ईपीएल नखेल्नुबारे उनी स्वयं वा क्लबले पनि केही बताएको छैन‚ तर आफूमाथि नै ‘चरित्रमा दाग लगाउने गरी प्रश्न सोध्ने’ अख्तरले सञ्चालन गरेको एभरेस्ट प्रिमियर लिगमा पारसले सहभागिता नजनाएको बुझ्न कठिन छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *