स्वारेज चम्किंदा एट्लेटिको अपराजित

काठमाडाैँ । साबिक च्याम्पियन एट्लेटीको म्याड्रिडले स्पेनिस लालिगामा आफ्नो अपराजित यात्रा जारी राखेको छ  । उरुग्वे स्टार लुइस स्वारेज चम्किएको खेलमा एट्लेटिकोले गेटाफेलाई २-१ ले पराजित गर्‍यो । मंगलबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई उसैकै मैदानमा हराउँदा सानदार पुनरागमन गरेको थियो ।

गेटाफे खेलको सुरुवाती अग्रता लिएपनि जोगाउन असफल रह्यो । एट्लेटिकोको जितमा दुवै गोल लुइस स्वारेजले गरे । गेटाफेका स्टेफन मित्रोभिकले ४५औँ मिनेटमा अग्रता लिएको थियो । तर ७४औँ मिनेटमा गेटाफे १० खेलाडीमा समेटियो ।

कार्लेस एलेना दोहोरो पहेँलो (रातो) कार्ड खाँदै मैदानबाट बाहिरिंदा एट्लेटिकोले त्यसको फाइदा लिन सफल भयो । ६८ प्रतिशत बल पोसेसन राखेको एट्लेटिकोले ६८औँ मिनेटमा बराबरी गोल फर्काएको थियो । स्वारेजले मारियो हर्मोसोको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

त्यसपछि इन्जुरी समयमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई महत्त्वपूर्ण जित दिलाए । स्वारेजले सिम भर्सलज्कोको पासमा आकर्षक हेड गोल गरेका थिए । यससँगै स्वारेजले जारी सिजन तीन गोल गरेका छन् । स्वारेज ‘म्यान अफ दी म्याच’ भए ।

जितसँगै एट्लेटिकोले लिगमा अपराजित यात्रा पनि कायम राखेको छ । शीर्षस्थानमा उक्लिएको एट्लेटिकोको ६ खेलबाट १४ अङ्क बनाएको छ । अङ्कविहीन गेटाफे १९औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडले पाँच खेलबाट १३ अङ्क बनाएको छ। तेस्रो र चौथो स्थानमा रहेको भ्यालेन्सिया र रायो भालेकानोको समान १० अङ्क छ ।

मंगलबार राति नै भएको अर्को खेलमा रायो भालेकानोले एथलेटिक बिल्बाओलाई उसैको मैदानमा २-१ गोलले हराउँदै चौथो स्थानमा उक्लियो । अर्को खेलमा सेल्टा भिगोले लिभान्तेलाई २-० गोलले पराजित गर्‍यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *