दर्शक हँसाउने कि आफू रुने ?

काठमाडौँ । कलाकारिताबाट दर्शक हँसाउने धुर्मुस-सुन्तली (सीताराम कट्टेल र कुञ्जना घिमिरे) समस्यामा परेका छन् । उनीहरू कलाकारिताका कारणले नभएर अति महत्वकांक्षाका कारण शुरू गरेको एक परियोजना बिचमै अलपत्र परेपछि उनीहरु समस्यामा परेका हुन् । उनीहरुले थालेकाे अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला  बनाउने काम अलपत्र परेको छ । चितनवको भरतपुरमा ‘३५ प्रतिशत काम सकिएको’ यो परियोजना आर्थिक अभावमा रोकिएको धुर्मुस-सुन्तली फाउन्डेसनले जनाएको छ ।

जनस्तरबाट रकम सङ्कलन गरेर काम सुरु गरिएकोमा सङ्कलित रकमले मात्रै नपुग्ने भएको र सरकारको सहयोग नभएको भन्दै साउनबाट काम भएको छैन । उनीहरूले सहयोगका लागि सरकारलाई आग्रह गरिएको र सहयोग पाए निर्माण गरिसक्ने दाबी पनि गरिरहेका छन् ।
यसअघि यही फाउन्डेसनमार्फत मुसहर बस्ति, गिरानचौर लगायत चार ठाउँमा बस्ती निर्माण भएको थियो । यी बस्तिहरू प्रायजसो विदेशमा रहेका नेपालीको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको थियो । आर्थिक अभाव भएपछि उसबेला पनि बीच धुर्मुस-सुन्तली रुँदै मिडियामा आए, घर बेचेर भए पनि प्रोजेक्ट पूरा गर्ने बताए । अन्ततः सहयोग जुट्यो र बस्ती तयार भयो ।

तर, अहिलेको परियोजना त्यति सहज छैन । घर बेचेर पनि काम पूरा गर्न सकिने पनि छैन ।

यो कामको जगमै जाने हो भनेअन्तर्राष्ट्रिय स्तरको रंगशाला पैसा उठाएर बनाउँछु भनेर सोच्नु नै गलत हो । त्यस्तै, सर्वसाधारणबाट रकम उठाएर बनाएका कामहरु बनेर तयार भएपछि स्थानीय सरकारको नाममा हस्तान्तरण हुने बताइएको छ । बिनालगानी नै तयार प्रोजेक्ट पाइन्छ भने सरकारले नाइँ भन्ने विषय रहेन ।

यहीबीचमा धुर्मुस-सुन्तलीले २ वटा चलचित्र निर्माण गरे (भलै चलचित्र निर्मातामा उनीहरूको नाम छैन ) । उनीहरूको विरोध गर्ने व्यक्तिहरूको विषयमा सञ्चारमाध्यममा आएर बोल्दा पहिलाझैँ आँसु बिकाए भने कहिले रुखो स्वर गरेर कुरा मोडे । शुरुदेखि नै विवाद धेरै देखिएको यो परियोजना जेनतेन चल्दै थियो । जसमा भरतपुर नगरपालिकाकी मेयर एवम् प्रचण्ड पुत्री रेणु दाहालको पूर्ण साथ पनि थियो । उसो त यो कामको शिलान्यास नै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । कार्यक्रममा तत्कालिन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित थिए ।

धुर्मुस सञ्चारमाध्यममा पुगेर गुनासो गर्न थालेका छन् । तर, अचम्म प्रोजेक्ट अघि बढाउन सक्दैनौ भन्दै गर्दा पनि अझै सहयोग रकम उठाउने क्रम भने रोकिएको छैन ।

कलाकारितामा यी दुईले एक प्रकारका दर्शकमाझ आफ्नो छाप छोडेका थिए । सानो लगानीका सामुहिक बस्तिहरू निर्माणमा सफलता हात परेपनि यति ठुलो परियोजनामा हात हाल्नु गलत थियो भन्ने अहिले पुष्टि भएको छ ।
भनाइ नै छ नि नजाने गाउँको बाटो नसाेध्नु । शायद यो भनाइ अहिले धुर्मुश सुन्तलीले धेरै याद गरिरहेको हुनपर्छ । कलाकारीतामार्फत नागरिकलाई हँसाउने काममा मात्र केन्द्रित हुन सकेको भए अहिले यस्तो समस्या सामना गर्नुपर्ने पक्कै थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *