पोखरेलविरुद्ध वलीको उजुरी, प्रहरीले दर्ता गर्न नमानेको आरोप

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशकी सांसद विमलाकुमारी वलीले प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलसहित अन्य ४ जनाविरुद्ध उजुरी दिएकी छन् । वलीले मंगलबार (हिजो) पोखरेलसँगै ४ जनाविरुद्ध उजुरी दिएकी हुन् ।

तर, उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दर्ता गर्न प्रहरीले आलटाल गरेको माओवादीले आरोप लगाएको छ । ‘हामी अस्ति इलाका प्रहरी कार्यालय बुटवलमा गएका थियौँ,’ माओवादी मुख्य सचेतक तुलाराम घर्तीमगरले मकालुखबरसँग भने, ‘तर प्रहरीले दाङ रिफर गर्नुपर्ने भन्दै अझैसम्म दर्ता गर्न आलटाल गरेको छ । हामीले यही गर्नुहोस् त्यसपछि जहाँ रिफर गरे पनि गर्नु होला भनेका छौँ । तर, प्रहरीले अटेर गरेको छ ।’

गत साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर आफूलाई बन्धक बनाइएको वलीले उजुरीमार्फत जिकिर गरेकी छन् । वलीले पोखरेलसँगै एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका किरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।

दाङबाट उपनिर्वाचनमा विजेता वली शुरूमा एमाले कि माओवादीको तानातान परेको बेला मुख्यमन्त्री कार्यालयमा आफूलाई बन्धक बनाएको भन्दै पत्रकार सम्मेलन गरेकी थिइन् ।

एमालेले वली आफूहरूको सांसद रहेको र मुख्यमन्त्री कार्यालयमा स्वेच्छाले बसेको पत्रकार सम्मेलन गरी एमाले प्रमुख सचेतक ढकालले दाबी गरेका थिए ।

एमालेले अहिले पनि विमला र नवलपरासी अजय शाही एमालेको सूर्य चिन्हबाट टिकट लिएर चुनाव जितेकोले आफूहरू सांसद रहेको जिकिर गर्दै प्रदेश सभा अवरुद्ध पार्नेसम्मका गतिविधि गरेको छ ।

यसअघि वलीविरुद्ध दाङमा आफ्नै दुई छोराहरुके तर्फबाट मुद्दा परेको थियो । उक्त मुद्दाकै ‘ट्वीस्ट्’के रूपमा यो उजुरीलाई बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *