नेपाललाई लय समाउने अवसर

काठमाडौँ । एसोसिएटेड देशका लागि एकदिवसीय विश्वकपको ढोकाका रुपमा रहेको आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले दोस्रोपटक त्रिकोणात्मक शृंखला सोमबारबाट खेल्दैछ ।

शृंखलाको पहिलो खेलमा नेपालले सोमबार (भोलि) अमेरिकासँग खेल्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । खेल डिस होमको एक्सन स्पोर्ट्स एचडी र डिसहोम गो ओटीटीमार्फत् प्रत्यक्ष प्रसारण हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

पछिल्लोपटक सन् २०२० फेब्रुअरी १२ मा कीर्तिपुरमा भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको थियो ।

एकदिवसीय क्रिकेटको यो लामो फर्म्याटमा नेपालसहित सात देशले एक अर्कासँग ‘होम एन्ड अवे’ आधारमा प्रतिस्पर्धा गर्नेछन् । गतवर्ष नेपालमा आयोजना भएको प्रतियोगितामा डेब्यू गरेको नेपालका लागि ओमन भ्रमण स्वभाविक रुपमा लय समाउने अवसरका रुपमा रहनेछ ।

ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्मक शृंखलाका लागि राष्ट्रिय टोलीको तयारी पूरा भएको छ । ८ भदौमा ओमन पुगेको नेपालले तीन हप्ता प्रशिक्षण गर्‍यो भने पपुवा न्युगिनी (पिएनजी) सँग दुईवटा अभ्यास खेल खेल्यो ।

दुवै खेलमा नेपालले जित निकाल्दै आफ्नो आत्मविश्वास बढाएको छ । त्यसो त जारी लिगको यो यात्रामा अहिलेसम्मलाई आधार मान्दा पिएनजी सर्वाधिक कमजोर टीमका रुपमा देखिएको छ । उसले ८ खेल खेल्दा एक अङ्क पनि हासिल गरेको छैन । त्यसैले नेपाली टीमको वास्तविक परीक्षा सोमबार अमेरिकासँग हुने खेलले नै तय गर्नेछ । अमेरिका यो लिगको अङ्क तालिकामा दोस्रो स्थानमा रहेको टिम हो ।

नेपालले शृंखलाको पहिलो खेलमा सोमबार अमेरिकासँग खेल्नेछ ।

नेपालले दोस्रो खेलमा ओमनसँग भदौ २९ मा, तेस्रो खेलमा अमेरिकासँग असोज १ मा र आफ्नो अन्तिम खेलमा ओमानसँग असोज ३ गते खेल्नेछ ।

सात देश सम्मिलित प्रतियोगितामा नेपालले सर्वाधिक कम खेल खेलेको छ । नेपालले अहिलेसम्म ४ खेल खेलेर ४ अंक बटुलेको छ । नेपाललाई यो प्रतियोगितामा अङ्क तालिका सुधारको अवसर पनि हो । नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरी ७ टोलीले २०२३ सम्म एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । ‘होम एन्ड अवे’ आधारका सबै त्रिकोणात्मक शृंखलाका खेल हुँदा एक टोलीले कुल ३६ एकदिवसीय खेल खेल्नेछन् ।

अंक तालिकाको शीर्ष तीन स्थानमा रहने टोलीले सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको लागि ग्लोबल छनोटमा स्थान बनाउनेछन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्नेछ । प्लेअफमा ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ र शीर्ष दुईमा रहने टोलीले ग्लोबल छनोटको मौका पाउनेछन् ।

यस्तो छ अंक तालिका

टीम             खेल     जित      हार    नो रिजल्ट    अंक

ओमान         १०        ८         २           ०               १६

युएसए         १२        ६         ६          ०                 १२

स्कटल्यान्ड   ८         ४          ३          १                 ९

नामिविया      ७        ४          ३           ०                ८

युएई             ७        ३           ३           १               ७

नेपाल           ४         २           २           ०              ४

पिएनजी        ८        ०            ८           ०             ०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *