भारत-ईङ्ग्ल्यान्ड पाँचौं टेस्ट रद्द : सिरीज बराबरी !

काठमाडौँ । भारत र ईङ्ग्ल्यान्डबीच जारी पाँच खेलको टेस्ट सिरीजको अन्तिम खेल कोरोना कहरमा परेको छ । आजबाट म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा खेल्ने तालिका रहेकोमा भारतीय टीमका स्‍टाफलाई कोरोना पोजेटिभ देखिएपछि म्यानचेस्टर टेस्ट रद्द गरिएको ईङ्ग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी)ले जानकारी दिएको छ ।

भारतीय टीमका फिजियो योगेश परमारलाई कोरोना पोजेटिभ देखिएपछि बीसीसी आई र ईसीबीले लगातार छलफल गरेका थिए । बीबीसीका अनुसार भारतीय खेलाडीले खेल्न इन्कार गरेपछि म्यानचेस्टर टेस्ट रद्द गरिएको हो ।

यद्यपि बिहीबार गरिएको आरटी-पीसीआरमा सबै खेलाडीको रिपोर्ट नेगेटीभ आएको भएपनि फाइनल रिपोर्ट आज आएको बताइएको छ । तर खेलाडी संक्रमित भए नभएको जानकारी दिइएको छैन ।

भारतीय खेलाडीले खेल्न नमानेको हो ?
ओभल टेस्ट जितेर भारतले पाँच खेलको सिरिजमा २-१ को अग्रता बनाएको थियो । भारतीय खेलाडीले खेल्न नमानेपछि सिरिज रद्द गरिएको ईसीबीले जनाएको छ । जसका कारण अन्तिम टेस्टलाई उसले वाकओभरको रुपमा लिँदै ईङ्ग्ल्यान्डलाई विजयी मान्दै सिरीज २-२ को बराबरी भएको घोषणा गरिएको हो । बीसीसीआईले भने यो निर्णय मान्य नहुने जनाएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

भारतीय खेलाडीले अन्तिम टेस्ट खेल्न इन्कार गरेसँगै ईङ्ग्ल्यान्डलाई खेल नखेल्दा नै विजेता मानिएको भारतीय सञ्चारमाध्यामको दाबी छ । जसका कारण टेस्ट २-२ को बराबरीमा सकिएको हो । योसँगै १४ वर्षपछि ईङ्ग्लिस भूमिमा टेस्ट जित्ने भारतीय सपना यसपटक पनि पूरा भएन ।

भारतीय टीमका सामु सिरिज जित्ने राम्रो अवसर थियो । ओभल टेस्ट १५७ रनले जितेसँगै भारतले खेलमा २-१ को अग्रता लिएको थियो । अन्तिम टेस्टमा बराबरीले नै भारतको हातमा सिरिज हुने थियो । तर अन्तिम टेस्ट रद्द भएसँगै सिरिज जित्ने सपनाबाट भारतीय टीम चुकेको छ ।

यसअघि भारतले तीनपटक मात्र ईङ्ग्लिस मैदानमा सिरीज जितेको छ । पहिलो पटक १९७१ मा तीन खेलको सिरीज १-० ले जितेको भारतले १९८६ मा दोस्रो पटक तीन खेलको सिरीज २-० ले जितेको थियो । पछिल्लो पटक २००७ मा तीन खेलको सिरीज १-० ले जितेयता भारतले ईङ्ग्ल्यान्डमा टेस्ट सिरीज जित्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *