सन्दर्भ : १०७औँ बिपी जन्मजयन्ती

यस्तो थियो बीपी नेतृत्वको सरकारलाई महेन्द्रले अपदस्त गर्दा न्यूयोर्क टाइम्सको कभरेज

काठमाडाैँ । आज नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा बीपी कोइरालाको १०७ औँ जन्मजयन्ती । आजको दिन बीपीको विमर्श झनै धेरै हुन्छ ।

बीपी एकपटक मात्रै प्रधानमन्त्री भएर पनि दीर्घकालीन महत्वको प्रभाव पार्ने प्रधानमन्त्री हुन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीलाई प्रधानमन्त्री भएको १८ महिना नपुग्दै विसं. २०१७ पुस १ मा तत्कालीन राजा महेन्द्रले जेल हाले । सरकार र सदन दुवै भंग गरे ।

यो समाचार विदेशी सञ्चारमाध्यममा पनि महत्वका साथ आएको थियो । अमेरिकाको न्यू योर्क टाइम्समा यो समाचार पहिलो पृष्ठमा आएको थियो । २०१७ पुस २ गते आएको समाचार पृष्ठ एक  र पृष्ठ ६ मा छापिएको थियो । समाचारको शीर्षक थियोः ‘नेपालको क्याबिनेट राजाबाट अपदस्तः महेन्द्रले ‘अराष्ट्रिय’ भन्दै मन्त्रीहरुलाई थुने र सदन भंग गरे’ ।

समाचारमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालालाई रेडियोमार्फत जारी राजा महेन्द्रको शाही घोषणाले अराष्ट्रिय तत्वहरुसँग मिलेर देशको सार्वभौमसत्ता र एकता बिरोधी काम गरेको भन्दै मन्त्रिमण्डल र सदन भंग गरेको घोषणा गरेको लेखिएको छ ।

घोषणा हुनासाथ प्रधानसेनापति नुर शमशेरले प्रधानमन्त्री वीपी कोइराला, गृहमन्त्री सूर्यप्रसाद उपाध्याय, यातायात मन्त्री गणेशमान सिंह र प्रतिनिधिसभाका सभामुखलाई राष्ट्रिय युवा लिजको प्रथम राष्ट्रिय सम्मेलनबाटै एक जिपमा हालेर लगिएको समाचारमा उल्लेख छ ।

राती १० बजेदेखि बिहान छ बजेसम्म कफ्र्यू लगाइएको भन्दै समाचारमा नेपाली कांग्रेसका साथै कम्युनिस्ट र अन्य विपक्षी दलका नेताहरुलाई समेत पक्राउ गरेर आर्मी अफिसर्स क्लबमा राखिएको उल्लेख छ । सञ्चार क्षेत्र सेनाको नियन्त्रणमा भएको र १०९ सिटको प्रतिनिधिसभामा ७४ सिट ल्याएर बीपी कोइरालाले जमिनदारको शासन अन्त्य गर्ने र नागरिकको जीवनस्तर उकास्ने बाचा गरेर प्रधानमन्त्री भएको लेखिएको छ ।

न्यूयोर्क टाइम्सले भारत र अमेरिकी प्रतिकृया लिँदै दुवै देश राजाको कदमबाट अचम्मित भएको लेखेको छ । भारतमा भने राजाले भनेका अराष्ट्रिय तत्वहरु कम्युनिस्ट भएको भनिएको छ भने अमेरिकाको  विदेश मन्त्रालयले भने राजाको कदमका पछाडि आन्तरिक राजनीतिक विकासक्रम हुनसक्ने भएको खबरमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *