सावित्रा नहुँदा बंगलादेशलाई राहत

काठमाडौँ । एएफसी वुमेन्स एसियन कपको तयारीमा रहेको नेपाल र बंगलादेश बिहीबार मैत्रीपूर्ण फुटबल खेल्दैछन् ।

दुवै टोलीले खेलका लागि तयार रहेको बताएका छन् । खेलअघिको पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक ग्यारी फिलिप्सले नेपालले नयाँ खेलाडीमा विश्वास गरेको र खेलका लागि तयार रहेको बताए ।

बंगलादेशका प्रशिक्षक गोलाम रोबानी चोटोनले नेपाल मुख्य फर्वार्ड सावित्राबिनै खेल्न लागेकाले त्यसको फाइदा आफ्नो टिमलाई हुने बताए ।

सावित्राको अभाव पूरा हुँदैन‚ तर नयाँ खेलाडी सक्षम छन् : फिलिप्स
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली महिला टीम राम्रो रहेको र यसपटक टिमका नयाँ खेलाडीमा विश्वास रहेको बताए ।

खेलअघि, आयोजित पत्रकार सम्मलेलनमा उनले सावित्राको अभाव भने टिमलाई रहने बताए । फिलिप्सले भने‚ ‘सावित्रा टोलीमा नहुदाँ टोली मानसिक दबाबमा हुनेछ । त्यसको असर र घाटा टीमलाई ठुलो हुन्छ ।’ यद्यपि यो अन्य खेलाडीका लागि अवसर भएको भन्दै सावित्राको स्थान लिने उचित अवसर खेलाडीमा रहेको बताए । कोभिड-१९ महामारी तथा चोटका कारण तयारीमा असर परेको उनको भनाइ छ । मैत्रीपूर्ण खेलका लागि टीम तयार रहेको र अहिले राष्ट्रिय टोलीमा ७ नयाँ खेलाडी रहेको र टिमका २३ खेलाडी नै सबै उत्कृष्ट रहेको बताए ।

सावित्रा नहुँदा बंगलादेशलाई राहत : चोटोन
पत्रकार सम्मेलनमा बंगलादेशका प्रशिक्षक गोलाम रोबानी चोटोनले सावित्रा नहुँदा आफ्नो टीमलाई फाइदा पुग्ने बताए ।

बंगलादेशको राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक चोटोनले सावित्रा भण्डारी बिनाको नेपाली टोलीसँग खेल्दा डिफेन्डरलाई राहत मिल्ने र त्यसको फाइदा सिङ्गो टीमले लिन सक्ने बताए । उनले भने ‘सावित्रा दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड हुन्, उनी खेलमा नहुनु दुःखद् छ । तर, नेपाली टोलीमा सावित्रा नहुँदा हाम्रा डिफेन्डरलाई राहत महसुस हुनेछ ।’

उनले कोरोना भाइरसको बाबजुत प्रतियोगिता आयोजना गरेकोमा नेपाललाई धन्यवाद दिए । एएफसी वुमेन्स एसियन कप छनोटको तयारीका लागि यी दुई खेल महत्त्वपूर्ण हुने उनको दाबी छ । उनले बंगलादेशी टीममा उमेर समूहबाटै आएका खेलाडी भएकाले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

एएफसी वुमेन्स एसियन कप २०२२ को छनोट १० दिनपछिबाट उज्वेकिस्तानमा हुँदैछ । समूह एफमा परेको नेपालले २०२२ मा भारतमा हुने प्रतियोगितमा स्थान बनाउका लागि १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ मा हङकङको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *