तनावमा पूजा !

काठमाडौँ । अभिनेत्री पूजा शर्मा तनावमा देखिएकी छन् । उनले हालै मात्रै युट्युबरलाई आफ्नो कुरा नगरी खाना नपच्ने हो ? भनेर प्रश्न गरेकी छन् ।

केही समयअघिबाट उनी र आकाश श्रेष्ठबीच सम्बन्धमा फाटो आएको छ । प्रेस मिटको रुवाबासीले पनि कुरा मिलाउन नसकेपछि यी दुवैले कार किन्न प्रतियोगिता झैँ गरे । त्यसपछि समेत केही गीतमा एकसाथ देखिए पनि अहिले पहिला झैँ निकटता यी दुईबीच छैन ।

अभिनेत्रीसँग खासै नजिक नदेखिने उनी केही समययता वर्षा सिवाकोटीनिकट देखिएकी थिइन् । तर यी दुवैको सम्बन्धसमेत चिसिएको निकट स्रोत बताउँछ । गीत ‘म यस्तो गीत गाउँछु २’ को भिडिओमा को देखिने भन्ने विषयले यी दुई ‘बेस्ट फ्रेन्ड’ को बन्ड नै टुटेको चर्चा छ ।

निर्देशक सुदर्शन थापाको टिकोटालोमा पूजा अनुपस्थित देखिइन् । म्युजिक भिडिओ छायाङ्कनका लागि उपत्यका बाहिर जाने उनले बताएकी थिइन् । सोही दिन सुदर्शनको जन्मदिनसमेत थियो । तर थापाको सुखद् क्षणमा उनी सहभागी थिइनन् । छायाङ्कन रोकिएकाले उनी उपत्यका बाहिर नभएर घरमै थिइन् ।

सुदर्शन थापाको जीवनमा सुश्मा कार्की रहेकै समय पूजा शर्मा आएको र यही कारण दुई नायिकाबीच पानी बाराबारको स्थिति रहेको हल्ला चल्ने गरेकै हो । स्वीकार नगरे पनि सम्बन्धमा आएको दरारको यही नै कारण भएको निकट स्रोत बताउँछ । यस्तोमा सुदर्शनले मोडल तथा भिजे सुप्रिया कटुवालसँग लगनगाँठो कस्ने तयारी स्वरूप टिकोटालो गरेका छन् । यस्तो खुसीको क्षणमा पूजा नपुग्नुले यी दुईको सम्बन्ध चिसिएको अनुमान गर्न थालिएको छ । सुदर्शन र पूजा लामो समय यता सहकार्य गरिरहेका छन् । सुदर्शनले आफ्नो चलचित्रमा पूजा बाहेक अरूलाई लिएको पनि देखिँदैन ।

यता पूजासमेत प्रेममा रहेको चर्चा पनि नचलेको भने होइन । एक युवा व्यवसायीसँग उनको नाम जोडिँदा पूजाले उनको नजिक हुँदै गरेको जवाफ दिएकी थिइन् । तर उनले सोचे झैँ, यो विषयले सञ्चार माध्यममा तहल्का मच्चाउन सकेन ।

त्यसको केही समय नबित्दै पूजा र उनका केही साथीहरू स्विमिङ पुलदेखि ओछ्यानसम्मै एक साथ देखिए । तर दुर्भाग्य‚ उनको यो चर्चामा आउने फन्डा पनि फ्लप भयो । दर्शक उनको हरकतलाई लिएर रुष्ट देखिए । आकाश श्रेष्ठसँगको सम्बन्ध चिसिएसँगै दर्शक दुई भागमा बाढिएकोमा अहिलेको यो सब घटनाले उनीप्रति अझ वितृष्णा थपिएको सामाजिक सञ्जालमा उनीप्रति आएका प्रतिक्रियामा देख्न सकिन्छ ।

यस्तोमा अचानक युट्युबरप्रति रुष्ट हुँदा, उनी कतै तनावमा त छैनन् भन्ने प्रश्न सिर्जना भएको छ । यसअघि समेत पटक पटक विवादमा आउने र युट्युबका साथै समाचारको समेत विषय बन्ने पूजाको अचानकको यो आक्रोश यसै त पक्कै आएको होइन होला कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *