एमालेसँग ‘वर्किङ्ग रिलेसन्’ बनाउन प्रधानमन्त्रीले थाले प्रयास, एमसीसीबारे पनि छलफल

काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्ष केपी शर्मा ओलीसँग ‘सम्बन्ध सुधार’ को प्रयास थालेका छन् । सम्बन्ध सुधारकै प्रयासस्वरूप प्रधानमन्त्री देउवाले मंगलबार साँझ आफ्ना विश्वासपात्र तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ओलीनिवास बालकोट पठाएका थिए । ओली–कार्कीबीच करिब साढे दुई घन्टा छलफल भएको थियो । बालकोट श्रोतले भन्यो, ‘उहाँहरु (ओली–कार्की) बीच संसद्मा विचाराधीन कतिपय विषयमासमेत बातचित भयो । त्यसक्रममा संसद् सञ्चालनदेखि बजेटसम्मका कुराकानी पनि भए ।’

कार्कीले ओलीलाई भेट्नुभन्दाअगावै एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गसँग भेट गरेका थिए । भेटमा के विषयमा कुराकानी भयो भन्ने मकालुखबरको जिज्ञासामा नेता नेम्वाङ्गले भने, ‘यही–यही विषयमा भन्दा पनि समग्रमा सत्तासीन र प्रतिपक्षबीचको सम्बन्धमा रहेर कुराकानी भयो ।’

नेता नेम्वाङ्गकै मार्फत ओलीलाई भेट्न बालकोट पुगेका कार्कीले पहिलो प्रस्तावको रूपमा ‘वर्किङ्ग रिलेसन्’ बनाऔं भनेर भनेका थिए ।  कार्कीको प्रस्तावमा ओलीले ‘वर्किङ्ग रिलेसन् बनाउन ठूलो कुरा नरहेको तर, प्रणाली र सधैंको अभ्यासमार्फत सरकार चल्नुपर्ने’ बताएका थिए । ओलीको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, ‘सरकार व्यवस्थामा रहेर, प्रणालीमा रहेर र संविधान–लोकतन्त्रलाई केन्द्र राखेर चलेको खण्डमा सहकार्य गर्नु कुनै ठूलो कुरै होइन ।’

एमसीसीबारे कुराकानी

ओली र कार्कीबीच मिलेनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) बारे समेत कुराकानी भएको थियो । लामो समययता प्रतिनिधि सभाबाट अगाडि बढ्न नसकेको एमसीसीबारे ओली–कार्कीबीच कुराकानी भएको श्रोतको दाबी छ ।

एमसीसी पनि हाम्रो सहयोगबिनै पारित हुन्छ, गराउनुस् ।

यसअघि सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा समेत सामेल नगराइएको एमसीसी सत्तासीन दल कांग्रेसले भने संसद्बाट पारित गरिहाल्नुपर्ने बताउँदै आएको छ भने सत्तासाझेदारी दल माओवादी केन्द्र जस्ताको त्यस्तै पारित गर्न नहुने अडानमा छ । साझा कार्यक्रममा प्रधानमन्त्री देउवाले राख्ने प्रस्ताव गरे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को असहमतिका कारण राखिएको थिएन ।

यसैबीच सरकारले ‘वर्किङ्ग रिलेसन’ बनाऔं भन्दै एमसीसीबारे प्रमुख प्रतिपक्षी एमालेसँग सम्बन्ध सुधारको पहल थालेको हो । प्रस्तावको जवाफमा अध्यक्ष ओलीले ‘हामीबिना नै तपाईंहरु बहुमत हुनुहुन्छ’ भन्ने जवाफ फर्काएका थिए । ओलीको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, ‘हामीबिनै बहुमत पुग्ने भएपछि किन चाहियो तपाईंहरुलाई विपक्षीको सहयोग ? एमसीसी पनि हाम्रो सहयोगबिनै पारित हुन्छ, गराउनुस् ।’

‘ढिलै भएपनि राम्रो गर्नुभयो’

नेता नेम्वाङ्ग सरकारले ढिलै भएपनि सम्बन्ध सुधार थालेकोप्रति खुसी व्यक्त गर्छन् । ‘मैले प्रधानमन्त्री शेरबहादुरजीलाई संसद्मा उभिएर बधाई दिँदै गर्दा भनेको थिएँ कि एक्लै अघि बढ्ने बानीको विकास नगर्नुस् भनेर,’ नेता नेम्वाङ्गले भने, ‘ढिलै भएपनि उहाँहरुले सम्बन्ध सुधार्न खोज्नुभयो । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’

उहाँहरुले सरकारमा आएपछि हेलो पनि गर्नुभएको थिएन । यो ठिक होइन भनेर हामी भनिरहन्थ्यौँ । ढिलै भएपनि आउनुभयो, राम्रो भयो ।

प्रतिपक्षी महत्वपूर्ण संसद्को महत्वपूर्ण अंग भएको बताउँदै नेता नेम्वाङ्गले थपे, ‘हामीले सरकारमा रहँदा प्रतिपक्षलाई राज्यको महत्वपूर्ण अंगको रुपमा मान्यौँ । समझदारी राखेर अघि बढ्यौँ । प्रमुख प्रतिपक्षी प्रमुख प्रतिस्पर्धी पनि हो । तर, सरकारले एउटा समझदारी राख्नुपर्छ भन्ने सदासर्वदाको भनाइ हो । हामीले सरकारमा रहँदा सर्वदलीय बैठक गरेका छौँ । त्यसबेलाका प्रधानमन्त्रीजीले पटक–पटक शेरबहादुरजीलाई भेट्न बालुवाटार नै बोलाउनुभएको छ । मैले पनि प्रधानमन्त्रीजीको तर्फबाट शेरबहादुरजीलाई भेटेको छु । यो एउटा राजनीतिक संस्कार हो । यो निरन्तर हुनुपर्छ । उहाँहरुले सरकारमा आएपछि हेलो पनि गर्नुभएको थिएन । यो ठिक होइन भनेर हामी भनिरहन्थ्यौँ । ढिलै भएपनि आउनुभयो । यो राम्रो हो ।’

नेता नेम्वाङ्ग प्रतिपक्षबिना अघि बढेको सरकार ‘फेरनेस्’ समेत नहुने बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *