नेपाल-भारत फुटबल : नेपाली रेफ्रीले खेल संचालन गर्ने

काठमाडौँ । नेपाल र भारतबीच तय भएको दुई मैत्रीपूर्ण खेलको संचालन नेपाली रेफ्रीले गर्ने भएका छन् । नेपाल र भारतबीच बिहीबार पहिलो खेल र आगामी आइतबार दोस्रो मैत्रीपूर्ण खेल हुने कार्यक्रम छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफाको निर्देशन अनुसार नेपालका ‘फिफा रेफ्री’ लाई खेल संचालन गर्न दिने निर्णय गरेको हो । ‘फिफाको निर्देशनअनुसार नै हामीले आफ्नै रेफ्रीलाई खेल संचालन गराउन लागेको हौँ,’ एन्फा स्रोतले भन्यो ।

सोहीअनुसार एन्फाले नेपालमा रहेका फिफा रेफ्रीलाई परीक्षणसमेत गरेको थियो । एन्फाले आफूअन्तर्गत रहेको रेफ्री संघलाई निर्देशन दिएसँगै नवनियुक्त रेफ्री डाइरेक्टर गौतम कौरले ८ रेफ्रीको टेस्ट लिएका हुन् । भारतीय पूर्वरेफ्रीसमेत रहेका गौतमको आगमनसँगै नेपाली रेफ्रीले पहिलो खेल संचालन गर्न लागेका हुन् ।

एन्फाले मंगलबार अपराह्न दशरथ रंगशालामा ४ सेन्टर रेफ्री तथा ४ सहायक रेफ्रीको परीक्षण गरेको हो । जहाँ‚ सहभागी ८ रेफ्री नै सफल रहे । हाल नेपालमा १० पुरुष तथा दुई महिला गरी १२ फिफा रेफ्रीको कोटा छ ।

यस पटक रेफ्रीमा नविन्द्र महर्जन, कविन व्यन्जनकार, प्रज्वल क्षेत्री र प्रकाश नाथ श्रेष्ठ रहने छन् । यस्तै सहायक रेफ्रीमा माधव खत्री, सहदेव श्रेष्ठ, विक्रम चौधरी र किशन यादव रहनेछन् ।

यसअघि मार्चमा भएको थ्री नेसन्स कपमा सहायक रेफ्रीको भूमिका निर्वाह गरेका नानी राम थापा र युनाल मल्ल भने मैत्रीपूर्ण खेल बाहिर रहे । रेफ्री र सहायक रेफ्रीसँगै फोर्थ अफिसियल, रेफ्री एसेसर, म्याच कमिस्नरसमेत दुई मैत्रीपूर्ण खेलमा नेपालकै पदाधिकारी रहने छन् ।

नेपाल र भारत दुबैले आगामी अक्टोबर १ देखि १६ सम्म माल्दिभ्सको मालेमा हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । नेपाल र भारतबीच हालसम्म १९ खेल आयोजना भएको छ । जसमा भारतले १३ खेल आफ्नो पक्षमा पार्दा ४ खेल बराबर भएको छ । यस्तै नेपालको पक्षमा २ खेल मात्रै रहेको छ ।

न्यूज कारखानाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *