नेपाल-भारत फुटबल : दर्शकलाई प्रवेश दिइने

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलमा दर्शकको उपस्थिति रहने जनाएको छ । कोरोना कहरलाई मध्यनजर गर्दै पहिलो खेलमा कडा कोरोना प्रोटोकलसहित रंगशालामा दर्शकलाई प्रवेश दिइने एन्फाले जनाएको हो ।

बिहीबार हुने पहिलो खेलमा दर्शकले कोरोनाका दुवै खोप लगाएको हुनुपर्ने अथवा पीसीआर परीक्षणबाट नेगेटिभ आएकालाई मात्र प्रवेश दिइने जनाएको छ । एन्फाले पहिलो खेलका लागि ५ हजार १ सय दर्शकको स्वीकृति दिइने जनाएको छ । दर्शक प्रवेशका लागि रंगशालाका पाँचवटा गेट प्रयोग गरिनेछ ।

दशरथ रंगशालमा ६ वर्षपछि हुने भिडन्त ५:३० देखि सुरू हुनेछ । सन् २०१५ मा विश्वकप छनोटको दोस्रो खेलमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका थिए ।

जित्नका लागि खेल्छौँ : अल्मुताइरी
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलमा टीमको लक्ष्य जित भएको बताए । असोज १५ देखि ३० सम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपालले भारतसँग दुई मैत्रिपूर्ण खेल खेल्दैछ ।

नेपाली राष्ट्रिय टोलीका कुवेती प्रशिक्षक अल्मुताइरीले वीर गोर्खालीहरू जितको लक्ष्य सहित मैदानमा उत्रने बताए । उनले भने‚ ‘हामी वीर गोर्खाली हौँ । हाम्रो उद्देश्य जितमात्रै हो । भारतसँगमात्र होइन‚ हामी सबै खेल जित्नका लागि मैदानमा हुनेछौँ ।’ यद्यपि उनले पराजयको डरलाई लुकाउन भने सकेनन् । मुताइरीले भने‚ ‘यो साफ च्याम्पियनसीप होइन । त्यसैले भारतसँग हारे पनि फरक पर्दैन‚ यद्यपि हामी जित्नका लागि मैदानमा उत्रिन्छौँ ।’

उनले भारतको बलियो इतिहास रहेको भन्दै नेपाली टीमले इतिहासभन्दा पनि भविष्य हेरेर प्रतिस्पर्धा गर्नै बताए । उनले यो खेलबाट टीमले थप गल्ती औँल्याउन पाउने बताए ।

भारतका प्रशिक्षक इगोर स्टिमेकले नेपाल बलियो टीम रहेको भन्दै भारतले कमजोर नआँकेको बताए । उनले नेपालसँग खेल्न सहज नहुने भन्दै नेपालविरुद्ध पूर्ण आत्मविश्वास राखेर मैदान उत्रने र त्यसका लागि टीम तयार रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *