मुख्यमन्त्रीलाई भेटेर बाबुरामले भने- गठबन्धन बलियो बनाउनुपर्छ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । भट्टराईले नयाँ सरकार गठनपछि विकसित घटना र कार्यप्रगतिबारे चासो राखेका थिए ।

विशेष राजनीतिक परिवेशमा नयाँ गठजोड बनेको भन्दै यसलाई थप उचाइमा पुर्‍याउन उनले आग्रह गरे । ‘राजनीति फरक हिसाबबाट हिँडिरहेको छ । बिल्कुल अप्ठ्यारो परिस्थितिबाट यो गठबन्धन बनेको छ,’ उनले भने, ‘हामीले यसलाई मजबुत बनाइराख्नुपर्छ । गठबन्धनले जनअपेक्षाअनुसार काम गरेर देखाउनुपर्ने चुनौती छ ।’ उनले यो सरकारलाई असफल हुने छुट नभएको भन्दै केहि मतभेदहरू आन्तरिक रुपमै मिलाउन आग्रह गरे ।

मुख्यमन्त्री पोखरेलले छोटो अवधिमा नीति तथा कार्यक्रम र बजेट ल्याउँदा केही त्रुटि भएको भन्दै सच्याएर अघि बढ्ने बताए । उनले प्रदेशको समग्र विकास स्थितिबारे व्रिफिङ गरेका थिए । ‘बहुवर्षे योजनाका कारण विकासको धेरै बजेट चलाउन नपाउने अवस्थामा छ । बाँकी रकमबाट सालबसाली योजना छुटेको छ,’ उनले भने, ‘प्रदेशको क्षमता अनुसारका योजना ल्याएका छौँ । केहि ठूला योजनामा संघ सरकारले थप बजेट दिनुपर्छ ।’

बाढीपहिरोका कारण अहिले प्रदेशका ११ वटै जिल्ला प्रभावित भएकाले तत्काल राहत र उद्धारका काममा आफ्नो सरकार जुटेको पोखरेलले बताए । प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि जेठ २९ मा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेको छ ।

गठबन्धनमा माओवादी, जनमोर्चा र जसपाको समर्थन छ । स्वतन्त्र सांसद पनि गठबन्धनतिरै लागेपछि नयाँ सरकार बनेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *