मैदान मिस गर्दै गोल मेसिन…

काठमाडौँ । नेपाली राष्ट्रिय महिला टिम एएफसी एसिया कप छनोट खेल्दैछ । २० वर्षपछि खेल्न लागेको प्रतियोगितामा राम्रो नतिजा दिलाउन टिमका प्रशिक्षक ग्यारी फिलिप्स दिनहुँ खेलाडीको सीपमा थप पाइन लगाइरहेका छन् । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा पुगेर खेलाडीहरू आफ्नो क्षमता निखार्नमै व्यस्त छन् ।

तर त्यहाँ एकजना खेलाडी भने छैनन्, जो पछिल्ला केही वर्ष नेपाली टिमको गोल मेसिनका रुपमा चिनिएकी छन् । उनी सात समूद्रपारिबाटै टिमको तयारीबारेको हालचाल बुझिरहेकी र मैदान अनि खेलाडी साथीलाई सम्झिरहेकी छन् । उनी‚ अर्थात् सावित्रा भण्डारी ‘साम्बा’बिनै नेपाली टिमले प्रतियोगिता खेल्दैछ । अथवा यसो भनौँ‚ नेपाली टिम साम्बाको भरोसाबाट वञ्चित हुने भएको छ । खेलका क्रममा घाइते भएकी साम्बा उपचारका लागि कतारमा छिन् ।

शल्यक्रियापछि उनी अहिले फिजियोथेरापीलगायत डाक्टरसँग परामर्श र फलोअपमा छिन् । मकालुखबरसँग कुरा गर्दै साम्बाले आफूले मैदान र टिम धेरै नै मिस गरिरहेको बताइन् । अहिले कतारमा उपचार गराइरहेकी उनले छिट्टै ठिक भएर मैदानमा फर्कन पाउने आशा ब्यक्त गरिन् ।

नेपाली महिला टीम विपक्षीविरुद्ध बलियो हुन थालेको धेरै भएको छैन । अझ सावित्रा भण्डारी (साम्बा)को आगमनपछि नेपाल उपाधि दाबेदार टीमका रुपमा स्थापित भयो । हुन पनि छोटो समयमै उनले अभूतपूर्व उपलब्धि हासिल गरिन् । पछिल्लो पाँच वर्षमा उनी नेपालको सर्वाधिक गोलकर्ता भइन् । नेपालका लागि उनले ३८ खेलमा ३८ अन्तरराष्ट्रिय गोल गरिसकेकी छिन् । राष्ट्रिय लिगमा त उनले विपक्षीविरुद्ध गोलको वर्षा नै गर्ने गरेकी छन् । जसको प्रेरणामा एपीएफलाई निरन्तरजसो सफलता हात परिरहेको छ ।

गत फागुनमा महिला राष्ट्रिय लिग खेलिरहँदा उनको घुँडामा चोट लाग्यो । नेपाल पुलिस क्लबसँगको खेलमा उनी पुलिसकी गोलरक्षक उषा नाथसँग ठोकिएर मैदानमा लडेकी थिइन् । एमआरआई रिपोर्टमा उनको दायाँ घुँडाको लिगामेन्ट च्यातिएको देखिएको छ । जसका कारण उनी एक वर्ष मैदान बाहिर भएकी छिन् । घाइते हुनुअघि उनले लिगका १० खेलमा ४३ गोल गरेकी थिइन् ।

चितवनबाट शुरु भएको खेल जीवन
लमजुङ पामचोकमा सावित्रा अरुभन्दा फरक थिइन् । उनी पुरूषले गर्ने काम महिलाले गर्नु हुँदैन भन्ने मान्यताबाट टाढा थिइन् । त्यसैले उनी कहिले हलो जोत्थिन् भने पुरुषसँगै खेलकुद गतिविधिमा संलग्न हुन्थिन् र पुरुषलाई नै हराउँथिन् ।

उनको फुटबलको प्रवेश भने २०७२ वैशाखमा घले गाउँमा भएको महिला फूटबल प्रतियोगितासँगै भएको हो । सावित्राको छरितो खेल त्यसबेला रेफ्री बनेर पुगेकी शुक्रा लामाको नजरमा पर्यो। लामाले सावित्राको सम्पर्क नम्बर मागिन् र काठमाडौं आउन भनिन् ।

उनले काठमाडौं जाने कुरा घरमा सुनाइन् । छोरीलाई घरबाट एक्लै काठमाडौँ पठाउने अनुमति कहाँ मिल्थ्यो र ! त्यो पनि खेल्नलाई । तर उनी घरबाट अनुमति पाइएन भनेर आफ्नो अठोट बदल्ने खालकी किशोरी पनि त थिइनन् । उनी अनुमति बेगर नै काठमाडौँ लागिन् ।

असारमा सशस्त्र प्रहरीले एपीएफ क्लबबाट खेल्न उनलाई निम्ता गर्‍यो । मासिक ५ हजारको करार जागिरमा सावित्रा एपीएफ क्लबमा आवद्ध भइन् । महिला फूटबलमा सशक्त मानिने सशस्त्रमा छिरेपछि उनलाई फुटबलमा ध्यान दिन सजिलो भयो । तत्कालीन एपीएफमा जमुना गुरुङ, अनु लामालगायत चर्चित नामहरूमात्र होइन‚ अनिता बस्नेतजस्ता त्यसबेलाका उदीयमान मिडफिल्डर पनि थिए ।  राष्ट्रिय टीमका सदस्य धेरैजसो एपीएफमै थिए ।

सोही समयमा जमुना घाइते भइन् । अनु शान्ति स्थापनाको मिसनका लागि विदेश गइन् । सावित्राले मौका पाइन् । राष्ट्रिय लिगमा अग्रपंक्तिको जिम्मेवारी पाएकी उनले प्रतियोगितामा ८ गोल गरिन् । त्यसपछि उनले फुटबल जीवनमा कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । सबैले उनको खेल भने हेरिरहे । हेरेनन् मात्र‚ हेरेर मन्त्रमुग्ध पनि बनिरहे ।

टिममा तहल्का मच्चाउन थालेपछि उनलाई सबैले मायाले साम्बा भनेर बोलाउन थाले । उनी सशस्त्र प्रहरीको मात्र होइन‚ राष्ट्रिय टिमकै खम्बा बनिन् । उनले गरेको गोलको वर्षा देखेर उनलाई ‘गोल मेसीन’ को उपमा दिन थालियो । साम्बा नेपालमा मात्र होइन‚ दक्षिण एसियामै उत्कृष्ट स्ट्राइकरका रुपमा गनिन्छिन् । साम्बाले भारत, मालदिभ्सलगायत देशका लिग पनि खेलेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *