के रोनाल्डो सिटी जाँदैछन् ?

काठमाडौँ । विश्वचर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले ईटालीको क्लब युभेन्टस छाड्ने चर्चा बढेको छ । युभेन्टसले समेत आफ्ना केही शर्त पूरा भए रोनाल्डोलाई बेच्न तयार भएको सार्वजनिक गरेसँगै ३६ वर्षीय यी स्टारले केहि दिनभित्रै क्लब छाड्न सक्ने अड्कलबाजीहरू भइरहेका छन् ।

युभेन्टससँगको सम्झौता एक वर्ष बाँकी नै भएपनि रोनाल्डोले यसै सिजनमा क्लब छोड्न चाहेको र ईङ्लिस क्लब म्यान्चेस्टर सिटीले उनलाई लिनेबारे चासो राखेको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

रोनाल्डोका एजेन्ट जर्ज मेन्डेसले म्यान्चेस्टर सिटी, पेरिस सेन्ट जर्मेइन् (पीएसजी) लगायत प्रतिष्ठित युरोपियन क्लबमा रोनाल्डोको कुरा भइरहेको भएपनि अन्तिम निर्णय भने हुन बाँकी नै रहेको दाबी गरेका छन् ।

हेरी केनलाई क्लबमा भित्र्याउन असफल भएसँगै म्यान्चेस्टर सिटीले रोनाल्डोलाई अनुबन्ध गर्ने तयारी गरेको ईङ्लिस सञ्चार माध्यमले जनाएका छन् । तर‚ सिटीले औपचारिक रुपमा भने कुनै प्रस्ताव नगरेको जनाइएको छ । रोनाल्डो, दुई वर्षअघि स्पेनिस क्लब रियल मड्रिडबाट ९९.२ मिलियन पाउण्ड पारिश्रमिकमा युभेन्टस गएका थिए ।

पोर्चुगिज स्टार रोनाल्डो युभेन्टसको पहिलो खेलमा अनुपस्थित रहेसँगै उनले क्बल छाड्न सक्ने हल्ला बाहिरिएका थिए । युभेन्टस छाड्ने चर्चासँगै उनी शुक्रबारको प्रशिक्षणमा समेत सामेल नभएको गोल डटकमले जनाएको छ ।

उनले प्रशिक्षण स्थलमा रहेका सहकर्मीहरूसँग क्लबमा नरहने भन्दै बिदा मागेको दाबीसमेत गरिएको छ । युरोपियन ट्रान्सफर मार्केटबारे भरपर्दो समाचार दिँदै आएका पत्रकार फाब्रिजियो रोमानोले रोनाल्डोले साथीसँग बिदा मागेको दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + one =