रुटको ब्याट चम्किएपछि…

काठमाडौँ । ईङ्ल्यान्ड घरेलु भूमिमा भारतसँग ५ खेलको टेस्ट श्रृंखला खेलिरहेको छ । जसमा दुई खेलको समाप्तिमा भारत १-० ले अघि छ‚ तर चर्चामा भने ईङ्ग्लिस टोलीका कप्तान जो रुट छन् । श्रृंखलाको तेस्रो खेलको पहिलो इनिङमा रुटको शतकीय ईनिङमा ईङ्ल्यान्डले दोस्रो दिन ३४५ रनको अग्रता बनाउन सफल भयो ।

भारतसँग सर्वाधिक शतक
३० वर्षीय रुट भारत-ईङ्ल्यान्डको टेस्ट खेलमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले भारतविरुद्ध ८ शतक प्रहार गरेका छन् । जारी खेलमा रुटले १६५ बलमा १२१ रन बनाए । जुन‚ उनको भारतविरुद्ध लगातार तेस्रो शतक पनि हो । यससँगै, रुट भारतविरुद्ध टेस्टमा सर्वाधिक शतक बनाउने खेलाडीको क्लबमा सामेल भएका छन् । उनले स्टिभ स्मिथ, रिकी पोन्टीङ, विलियन रिचर्डसन, तथा ग्यारी सोबर्सको कीर्तिमानको बराबरी गरेका छन् ।

रुटले भारतविरुद्ध २३ खेलमा ४१ इनिङ खेल्दै ८ शतक र १० अर्धशतकसहित कुल २२९६ रन बनाएका छन् । जुन उनले खेलेका अन्य टेस्ट राष्ट्रको तुलनामा सर्वाधिक हो ।

कप्तानको कीर्तिमान
कप्तान रुटले १२ शतक प्रहार गरे‚ जुन कप्तानका रुपमा एलेस्टर कुकको कीर्तिमानको बराबरी हो । उनले यसअघि २०१८ मा केनिङ्ट्कन ओभलमा टेस्टको दोस्रो इनिङमा १२५ रन बनाएका थिए । त्यसपछि यहि श्रृंखलामा नाटिङ्घममा ६४ र १०९ रन बनाए भने लर्ड्समा १८० रन बनाए ।

भारत-ईङ्ल्यान्ड टेस्टमा जो रुटको ८ शतकपछि राहुल द्रविड, सचिन तेन्दुलकर र एलेस्टर कुक समान ७–७ शतक तथा मोहम्मद अजहरुद्धीन र केभिन पिटरसन समान ६-६ शतक प्रहार गरेका छन् ।

यस्तै, रुटले एकै क्यालेन्डरमा सर्वाधिक रन बनाउने ईङ्लिस ब्याट्सम्यानको कीर्तिमानसमेत बनाएका छन् । उनले पूर्वक्रिकेटर एलेस्टर कुकको कीर्तिमान भंग गरे । २०१५ मा कुकले एकै क्यालेन्डरमा १३६४ रन बनाएका थिए । रुटले २०२१ मा उनीभन्दा धेरै रन बनाउँदै कीर्तिमान आफ्नो नाममा लेखाए ।

भारतसँग एकै ‘क्यालेन्डर इयर’मा ४ शतक
यस्तै रुट भारतसँग एकै ‘क्यालेन्डर इयर’मा सर्वाधिक शतक प्रहार गर्ने खेलाडीको सूचीमा पनि परेका छन् । उनले यहि सिजनमा ४ शतक प्रहार गरेका छन् । उनीबाहेक हासिम अमला(दक्षिण अफ्रिका)-२०१०, शिवनारायण चन्द्रपोल (वेस्टइन्डिज)-२००२, अरविन्द डि सिल्वा (श्रीलंका)-१९९७, क्लाइभ लोयड (वेस्टइन्डिज)-१९८३ ले पनि एकै क्यालेन्डर इयरमा चार शतक प्रहार गरेका छन् ।

एकै क्यालेन्डरमा सर्वाधिक रन
यो लोभलाग्दो प्रदर्शनसँगै रुट एकै क्यालेन्डरमा सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो नम्बरमा परेका छन् । भारतसँगकै बाँकी खेलमा उनको यहि लय कायमै रहेमा यो कीर्तिमान पनि भंग गर्ने सम्भावना छ ।

एकै क्यालेन्डर इयरमा सर्वाधिक रन बनाउने खेलाडी
एकै क्यालेन्डर इयरमा सर्वाधिक रन बनाउने खेलाडीमा डन डम्यान(अस्ट्रेलियासँग)-९७४ (१९३०), क्लाइभ लोयड (भारतसँग)-९०३(१९८३), जो रुट (भारतसँग)-८७५ (२०२१), मार्क टेलर (इंग्ल्यान्डसँग)- ८३९ (१९८९), भिव रिचर्ड्स (इंग्ल्यान्डसँग)-८२९ (१९९६) रहेका छन् ।

२०२१ मा सर्वाधिक रन
जो रुट आफ्नो टेस्ट करिअरभरिमै २०२१ मा सबैभन्दा धेरै रन बनाउने बनाउने खेलाडीको शीर्ष स्थानमा पुगेका छन् ।

२०२१ मा अहिलेसम्म जो रुटले १३९८ रन बनाएका छन् । रुटले आफ्नो करिअरमा यसअघि सन् २०१५ मा १३८५ रन प्रहार गरेका थिए ।

२०२१ मा अहिलेसम्म रोहित शर्माले ७०९, लाहिरू थिरमानेले ६५९ र ऋषभ पन्तले ६४६ रन बनाएका छन् ।

रुटको टेस्ट करिअर
रुटले २०१२ देखि २०२१ सम्ममा कुल १०८ खेलमा १९८ इनिङ खेल्दै ९२२१ टेस्ट रन पूरा गरेका छन् । जहाँ‚ उनका ४ दोहोरो शतकसहित २३ शतक र ५० अर्धशतक सामेल छन् । उनले पाकिस्तानविरुद्ध सर्वाधिक २५४ रन प्रहार गरेका छन् ।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *