फोहोरै फोहोर

काठमाडौँ । काठमाडौँ उपत्यकाका शहरी क्षेत्रका ठाउँ ठाउँमा फेरि फोहोरको डङ्गुर थुप्रिन थालेको छ । करिब १६ वर्षदेखि फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोट, ककनीको सिसडोलमा फोहोर भरिएपछि शहरमा जताततै फोहोरको डङ्गुर थुप्रिएको हो ।

नुवाकोटको ककनी गाउँपालिकास्थित सिसडोलमा फोहोर भरिएकाले फोहोर व्यवस्थापनमा समस्या भएको काठमाडौँ महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकृष्ण श्रेष्ठले मकालुखबरलाई बताए ।

गतवर्ष नै सिसडोलमा फोहोर भरिइसकेकाले थप फोहोर व्यवस्थापन गर्न सकिँदैन भन्ने सूचना पहिले नै दिएको प्रमुख श्रेष्ठले बताए । वर्षात्‌को समय भएकाले अन्य समयभन्दा अहिले फोहोर बढि हुने गरेको र फोहोर बढ्नुको अर्को कारण व्यवस्थापनको कमी पनि भएको उनले बताए । फोहोर व्यवस्थापनका लागि नुवाकोटकै बञ्चेडाँडामा तयारी भइरहे पनि त्यसको निर्माणमा ढिलाइ भइरहेको श्रेष्ठले जानकारी दिए ।

गन्ध कम गर्न वातावरण विभागले फोहोरको गन्ध नियन्त्रण गरेको उनले बताए । फोहोरको मात्रा सकेसम्म कम गर्न उनले उपत्यकाबासीलाई आग्रहसमेत गरेको जानकारी दिए ।

सामान्यतया १ हजार ४५ मेट्रिक टन फोहोर उत्सर्जन हुने काठमाडौँ उपत्यकामा वर्षायाममा १२ सय मेट्रिक टनसम्म फोहोर उत्सर्जन हुने गर्छ ।

पहिले सडकको अवस्था राम्रो हुँदा दैनिक १५० भन्दा बढि गाडी फोहोर लिएर जाने गरेकोमा अहिले सडकको अवस्था खराब भएकाले ५० वटा गाडी जान पनि धौधौ भएको महानगरपालिकाले जनाएको छ ।

पानी पर्न रोकिए अबको एक सातामै फोहोर व्यवस्थापन हुने महाशाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।

‘सरुवा रोग बढ्न सक्छ सचेत बनौँ’
कोरोना संक्रमणको जोखिमका बिच फोहोरका कारण सरुवा रोग बढ्न सक्ने भन्दै सचेत रहन चिकित्सकले सुझाव दिएका छन् ।

घरबाहिर निस्केपछि र घर फर्किसकेपछि सरसफाइमा बढि जोड दिन सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको सुझाव छ । उपत्यकामा थुप्रिएको फोहोरबाट उत्पन्न हुने किटाणु हावामा फैलन सक्ने भन्दै खानेकुरा र सरसफाइमा विशेष ध्यान दिन डाक्टर पुनले आग्रह गरेका छन् ।

साथै बाहिर होटल तथा रेस्टुरेन्टहरूमा खाँदा पनि विशेष सावधानी अपनाउन पुनको सुझाव छ ।

प्रदुषित हावाबाट टाइफाइड, झाडापखाला, हैजा, हेपाटाइटिसजस्ता स्वास्थ्य समस्या हुन सक्ने भएकाले सचेत हुन र सजगता अपनाउन डाक्टर पुनको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *