विपद् व्यवस्थापनमा लैङ्गिकमैत्री नीति हुनुपर्नेमा जोड

काठमाडौँ । लैङ्गिकमैत्री नीतिसहित विपद् व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ । सञ्चारिका समूहले काठमाडौँमा गरेको ‘विपद् जोखिम व्यवस्थापनमा लैङ्गिक नीति’ कार्यक्रममा सहभागीले विपद्‌मा बढी प्रभावित हुने वर्ग महिला र बालबालिकाको समस्या सम्बोधनका लागि लैङ्गिक नीतिको आवश्यक रहेकोमा जोड दिएका हुन् ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले आगलागी, बाढी, पहिरो, भूकम्प र चट्याङलगायतका विपद्‌बाट बढी जोखिमपूर्ण अवस्थामा रहेको नेपालमा विपद्‌बाट विविध कारणले महिला, बालबालिका र अपाङ्गता भएका वर्ग प्रभावित हुने भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताए ।

विपद्को पूर्वतयारीका लागि बनाउने कार्ययोजनामा लैङ्गिकमैत्री नीति वा व्यवस्थाका लागि सहमति जनाउँदै भाषागत भिन्नता, क्षेत्रगत र सबै वर्गले बुझ्ने भाषा, शैली र माध्यमबाट सञ्चार हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीका प्रमुख कार्यकारी अधिकृत पूर्वरथी बालानन्द शर्माले बाढी पहिरो, चट्याङ, भूकम्पजस्तै कोरोना महामारी झेलिरहेको नेपालमा राज्यको तर्फबाट व्यवस्थापन फितलो देखिएको बताए ।

कोरोना भाइरसबाट जोगिन पटक-पटक लागू गरेको बन्दाबन्दी, निषेधाज्ञा, स्मार्ट लकडाउनको बेला नागरिकको रोजगारी, खान, स्वस्थ रहन पाउनुपर्ने हकका लागि खासै पहल नभएको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल टेलिभिजनका नायव महाप्रबन्धक आरती चटौतले कार्यपत्र प्रस्तुत गर्दै जुनसुकै विपद्‌मा महिला बढी पीडित हुने कारणले लैङ्गिकमैत्री नीतिसहितको विपद् व्यवस्थापन कार्यक्रम आवश्यक रहेको बताइन् । कोरोना महामारीको समयमा महिला घरभित्रै रहेको अवस्थामा पनि घरमा पुरूष सदस्यबाट धेरै हिंसा खेप्नुपरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सर्वेक्षणले पुष्टि गरेको उनको भनाइ छ ।

सञ्चारिका समूहका उपाध्यक्ष कमला पन्थीले विपद् व्यवस्थापनका कार्यक्रम कार्यान्वयनको समयमा नागरिकताविहीन महिला तथा वर्गलाई समेत समेट्ने नीति आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *