सन्दीप बिगबासका लागि हुरिकान्समा अनुबन्ध

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियाको घरेलु क्रिकेट लिग ‘बिग बास’ खेल्ने भएका छन् ।

बीबीएलको टोली होबार्ट हुरिकान्सले सन्दीपलाई आसन्न सिजनका लागि पहिलो अन्तराष्ट्रिय खेलाडीका रुपमा अनुबन्ध गरेको जनाएको छ ।

हुरिकान्सले अहिलेसम्म अनुबन्ध गरेकामा सन्दीप एकमात्र विदेशी खेलाडी हुन् । अस्ट्रेलियन सरकारले कोभिड-१९ महामारीका कारण अन्य देशबाट आउने प्रत्येक मानिसले अनिवार्य १४ दिनको कडा होटल क्वारेन्टीन बस्नुपर्ने नियमका कारण खेलाडी अनुबन्धनका लागि बीबीएलका टिमहरू समस्यामा छन् ।

मेलबर्न स्टार्सबाट बीबीएलका दुई सिजन खेलेपछि सन्दीप गत सिजन हुरिकान्समा अनुबन्ध भएका थिए । जनवरीमा बीबीएलमा उनले आठ खेल खेलेका थिए । २०२१ मा उनले खेलेको विश्वका फ्रेन्चाइज लिगमध्ये त्यहीमात्र हो ।

‘म अस्ट्रेलिया फर्किन र हुरिकान्सबाट फेरि यो वर्ष खेल्न प्रतिक्षारत छु‚’ उनले भने, ‘गत सिजन हुरिकान्सबाट खेल्दा मैले निकै मज्जा  लिएँ । टिमलाई सफलता दिलाउनका लागि म आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु ।’

गत संस्करणको इन्डियन प्रिमियर लिगमा रिलिज भएयता सन्दीपले सीमित मात्र अन्तर्राष्ट्रिय फ्रेन्चाइज खेल्न पाइरहेका छन् । उनले कोभिड-१९ महामारीका कारण बेलायती सरकारले लागू गरेको मापदण्डका कारण भिसा समस्या भोग्दा यो वर्ष दी हन्ड्रेड र इङ्ल्यान्डको भिटालिटी ब्लास्ट टीममा रहेर पनि खेल्न पाएनन् ।

त्यस्तै क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि उनले ट्रिनबागो नाइट राइडर्ससँग गत मेमा सम्झौता गरेपनि राष्ट्रिय टोलीका लागि विश्वकप क्रिकेट लिग दुई खेल्न ओमान जानुपरेका कारण उनले त्यो प्रतियोगितासमेत गुमाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *