माधवजी माफ पाउँ भन्दै एमालेकै शरण पर्नुहुन्छ : लालबाबु

काठमाडौं । अन्ततः नेकपा (एमाले) सग्लो रहेन, विभाजित भएरै छाड्यो । वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले नेकपा (एकीकृत समाजवादी) नामको दल निर्वाचन आयोगमा दर्ता गराएर दर्ताको प्रमाणपत्रसमेत हात पारिसकेको छ।

यसबीचमा एमाले एकताका लागि भन्दै नेताहरुले गरेको प्रयास सफल हुन सकेन ।

पार्टी फुटाएर आफूलाई ‘एकीकृत’ भनेको नेपाल–खनाल समूहका नेताले भने अबको ४ महिनामा मुलुककै ठूलो पार्टीका रुपमा आफ्नो दल उभिने अनौठो दाबी प्रस्तुत गर्दै आएका छन् । दल दर्ताको प्रमाणमत्र लिँदै ‘हाम्रो पहिलो काम बृहत् कम्युनिष्ट एकता हो’ भनेको एकीकृत समाजवादीले अबको कदम कसरी अगाडि बढाउँछ हेर्न बाँकी छ ।

याे पनि – ओलीको दम्भका कारण फरक बाटो हिँड्न बाध्य भयौँ : निरुदेवी जैरु

नेपाल–खनालको पूर्वदल नेकपा (एमाले) का नेताहरुले भने एकीकृत समाजवादीको यो दाबीलाई ‘फुइँ’ मात्रैको रूपमा अर्थ्याएका छन् । बरु एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफैं एमालेमै फर्किने एमाले नेताहरु ठोकुवा गर्छन् । ‘माधवकुमार नेपालजी, ढिलाचाँडो एमालेमै फर्किनुहुन्छ,’ नेता लालबाबु पण्डितले मकालुखबरसँग भने, ‘अहिल्यै मिति तोक्न त सकिँदैन । तर, फर्किनु चाहिँ उहाँ फर्किनुहुन्छ । ढुक्कै बस्दा हुन्छ ।’

‘उहाँ (माधव)सँग अब एकता हुँदैन’

एकीकृत समाजवादीका नेताहरुले केपी शर्मा ओली र नारायणमान बिजुक्छे नेतृत्वको कम्युनिष्ट पार्टीबाहेक सबै कम्युनिष्ट धारका अन्य दलहरुसँग एकताको पहल गर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

त्यसो त नेता पण्डित नेपालको दल एकीकृत समाजवादीसँग कुनै पनि हालतमा एकता हुन नसक्ने बताउँछन् । अहिलेसम्म भएका एकताको प्रयास नेपालले नै असफल तुल्याएको बताउँदै नेता पण्डित भन्छन्, ‘मै पनि कुनैबेला उहाँसँगै थिएँ । तर, पछि रहन सकिएन । उहाँ कम्युनिष्ट आन्दोलनबाट टाढा भाग्नुभयो, जबजबाट अलग रहनुभयो । आफ्नो जिम्मेवारी भुल्नुभयो ।’

याे पनि – एमाले ओलीको मात्रै होइन, आफैँले बनाएको घर भत्काएर अन्त जान सकिनँ : श्रीमाया [अन्तर्वार्ता]

एकीकृत समाजवादीले एकताको आह्वान गरेपनि एमाले सहमत नहुने नेता पण्डितको भनाइ छ । ‘अब त उता (एकीकृत समाजवादी)बाट एकताको आह्वान आएपनि एकतामा बाँधिन सकिन्न होला,’ नेता पण्डितले भने, ‘एकता हुने भए अहिलेसम्मको प्रयासमै हुन्थ्यो नि ।’

‘उहाँको लागि कम्युनिष्टभन्दा कांग्रेस नै राम्रो हो’

नेता पण्डित नेपालको लागि कम्युनिष्टभन्दा कांग्रेस नै राम्रो भएको बताउँछन् । ‘हामीले देखिरहेकै छौँ,’ नेता पण्डितले भने, ‘उहाँ पछिल्लो समय त कांग्रेसकै साथमा हुनुहुन्छ, शरणमा हुनुहुन्छ । उहाँको लागि कम्युनिष्टभन्दा कांग्रेस नै प्यारो छ । उहाँलाई कांग्रेससँगै सुहाउँछ ।’

कम्युनिष्ट नेताकै कारण पछिल्लो पटक कांग्रेसले सत्तारोहण गरेको नेता पण्डितको आरोप छ । भन्छन्— ‘आफू कम्युनिष्ट भएर कांग्रेसलाई सरकारमा पठाउनु पनि नहुँदै काम हो । माधव नेपाल, प्रचण्ड, बाबुराम भट्टराई सबै सबैले समर्थन गरे अनि कांग्रेस सत्तामा आयो । कम्युनिष्ट नेताकै कारण कांग्रेस सत्तामा आउनु भनेको विडम्बना नै हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *