अन्तरवार्ता

ओलीको दम्भका कारण फरक बाटो हिँड्न बाध्य भयौँ : निरुदेवी जैरु

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले निर्वाचन आयोगमा अर्को दल दता गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नामको यो दलले मुख्य रुपमा कम्युनिष्ट दलहरुको बृहत् एकतालाई पहिलो जिम्मेवारीको रूपमा अघि सारेको छ । नेताहरुले बृहत् कम्युनिष्ट एकतालाई आफ्नो पहिलो र मुख्य जिम्मेवारी भएको बताएका छन् ।

त्यसो त नेपालकै सहयोगमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवा एकीकृत समाजवादीलाई सरकारमा स्वागत गर्न तम्तयार छन् भने नयाँ दललाई संगठनका धेरै कामहरु गर्नुपर्ने धपेडी छ । अब एकीकृत समाजवादी पार्टी कसरी अगाडि बढ्छ ? लगायत विषयमा हामीले दलकी नेतृ निरुदेवी जैरुसँग कुराकानी गरेका छौँ ।

पुरानो घरबाट नयाँ घरमा सर्नुभयो, लामो समय रहेको घर छाड्दै गर्दा कस्तो लागिरहेको छ ?
हो, अबदेखि निश्चय नै हामी नयाँ पार्टीमा रहनेछौँ । हिजो हामी जुन पार्टीमा थियौँ र जुन पार्टी सबै हिसाबले बलियो बनाउन खोजेका थियौँ । आज त्यही पार्टी छोड्नुपर्ने राजनीतिक संकट आइलाग्यो । हामीलाई लागेको थियो, यहीँसम्म चाहिँ आइपुगिँदैन भनेर । तर, कालखण्डले यहीँसम्मै आइपुगियो । लामो समय आफू रहेको पार्टी, आफ्नै मेहनतले बनाएको पार्टीबाट बाहिरिँदैछु भन्दा अलि फरक खालको अनुभूति त पक्कै नै भएको छ । तर, फेरि केपी ओलीको दम्भ सम्झिँदा ठिकै गरियो भन्ने पनि लागेको छ ।

नयाँ पार्टीमा चाहिँ यहाँहरु बिनाझगडा बस्न सक्नुहोला, एमालेझैँ झगडा गर्नुहुन्न होला भनेर कसरी पत्याउने ?
हाम्रो पार्टी अब जनताको पक्षमा हुनेछ । संविधानको पक्षमा हुनेछ । लोकतन्त्रको पक्षमा हुनेछ । झैँझगडा नै गरेर बस्ने भए त एमाले नै थियो नि । हामी किन छ्टयौँ भन्ने प्रश्नको जबाफ नै यही नै छ । त्यही झगडालुहरुबाट हामी छुटेका हौँ । झगडा नगर्ने नगर्ने चाहिँ हामी यता आएको छौँ । अर्को त हामीले सोचेको संविधान, जनता रदेशका लागि हो । हाम्रो पार्टी आपसमा झगडिँदैन, बरु नेपालको कम्युनिष्ट आन्दोलनलाई निरन्तरता दिने हो । यो पार्टी आफू झगडिँदैन, बरु कम्युनिष्ट एक्तालाई आत्मसाथ गर्दै अगाडि जान्छ ।

केपी ओलीले जनताको बहुदलीय जनवाद (जबज) माइतीघरमा ‘आइ लभ यू केपी बा !’ भन्नेहरुसँग साट्नुभयो ।

हिजोअस्तिसम्म एकता नै चाहन्छौँ भन्नुहुन्थ्यो, अन्ततः फरक पार्टीमार्फत नै अगाडि जानुभयो होइन ?
हामीले रहरले नयाँ पार्टी खोलेको होइनौँ, बाध्यताका बीच नयाँ पार्टीमा रहनुपर्ने र खोल्नुपर्ने बाध्यता आइलाग्यो । जसरी केपी ओली आजको दिनमा कम्युनिष्ट आन्दोलनलाई नै सिद्ध्याउने दिशामा लाग्नुभयो ।

हिजो नवौं महाधिवेशनमा बनेका कार्यादिशा, विधि र विधानलाई मिचेर ‘आयाम द स्टेट’को भावभङ्गीबाट अघि बढ्नुभयो त्यसपछि हामी यो बाटोमा हिँड्न बाध्य भएका हौँ । कतिपय कुराहरुमा मन नहुँदा नहुँदै पनि यसो हुन्छ । त्यसलाई स्वीकार्नुपर्छ भन्ने लाग्छ ।

पार्टी विभाजित हुनुमा केपी ओली मात्रै होइन तपाइँहरु पनि दोषी हुनुहुन्छ नि होइन र ?
केपी ओलीकै आयाम द स्टेट भन्ने दम्भले पार्टी विभाजनसम्म आयो । उहाँले एमालेको विधान, विधि, संवैधानिक सिद्धान्त अनि संसद्सम्म निल्नुभयो । एमालेको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) माइतीघरमा ‘आइ लभ यू केपी बा !’ भन्नेहरुसँग साट्नुभयो । अनि दोष कसरी हाम्रो भयो ? हिजो एकतर्फी रुपमा सरकार र पार्टी सञ्चालन गर्ने पनि उहाँ नै हो । आफ्नै पार्टीका नेताहरुलाई छानीछानी कारबाही गर्ने पनि उहाँ नै हो । सारा जनताले देखेका छन् नि यो त । यो प्रष्टोक्ति नै नचाहिने कुरा हो ।

तर, विभाजनको दोष त तपाईंहरुलाई नै लाग्यो नि !
विभाजनसम्म पार्टी आउनुमा कसको गल्ती थियो भन्ने प्रधान कुरा हुन्छ । हो, हामीले सरकारले ल्याएको अध्यादेशले सजिलो भयो र नयाँ दल दर्तामा लाग्यौँ । त्यसैले हामीले पार्टी विभाजनको दोष हामी मात्रै लिन तयार छैनौँ । झट्ट हेर्दा त्यो देखिएपनि बुझ्नेको लागि त्यहाँभित्र धेरै कुराहरु छन् ।

एमालेका तीन उपाध्यक्षसहित तपाईंहरुकै पक्षका नेताहरुलाई पनि कन्भिन्स गराउन सक्नुभएन तपाईंहरुका कुरा कसरी पत्याउने ?
उहाँहरु त डाँडाको पिपलको पातजस्तै फररर हुनुभयो । उहाँहरुमा दक्षिणपन्थी चरित्र देखियो । एउटै भेटमा केपी ओलीले के जादु गर्नुभयो कि, उहाँहरु उतै रहनुभयो । त्यसैले चन्द्रागिरीदेखि हामीले भन्दै आएका छौँ । उहाँहरुमा दक्षिणपन्थी लम्पासारवाद देखियो । उहाँहरुलाई धेरै भन्नू केही छैन । उहाँहरु समाजवादको यात्रामा छुट्नुभयो । जनताको साथमा रहने कुराबाट छुट्नुभयो, संविधान, लोकतन्त्र र व्यवस्थाको रक्षा गर्नबाट छुट्नुभयो । उहाँहरुको लागि धेरै शब्द खर्च नगरौँ ।

सनाखत गर्न नपाएका नेताहरुको हकमा अब के हुन्छ ?
उहाँहरु हाम्रै साथमा हुनुहुन्छ । निर्वाचन आयोगमा एउटा हस्ताक्षरको कुरा अब ठूलो कुरा रहेन । जो नेताहरुले हस्ताक्षर गर्न पाउनुभएन, उहाँहरु हामीसँगै हुनुहुन्छ । तर, निर्वाचन आयोगले सन्तोषजनक व्यवहार गरेन ।

निर्वाचन आयोगको भूमिकाविरुद्ध तपाईंहरुले किन बोलिरहनुएको छ ?
आजैको कुरा गर्ने हो भने दिनेशकुमार थपलियाले विभेदपूर्ण व्यवहार गर्नुभयो । दल विभाजन भइसकेपछि हरेक नेताहरुले दल रोज्न पाउँछन् । तर, आयोगले त्यसलाई मान्यता दिँदैन भनेर भन्यो । उहाँ (थपलिया) लाई पूर्वप्रधानमन्त्री केपी ओलीको माया रहेछ । त्यत्ति नै माया लाग्छ भनेर राजीनामा दिएर केपी ओलीकैतिर जाँदा हुन्थ्यो । एउटा संवैधानिक निकायले यस्तो खाले भूमिका खेल्न हुँदैन । यसको हाम्रो पार्टीले भर्त्सना गर्छ ।

दल दर्ताको प्रक्रिया अब सकियो, अब सरकारमा चाहिँ कहिले जानुहुन्छ ?
अब हामीले सरकारमा जानेभन्दा पनि अन्य पार्टी संरचनालगायतका विषयहरुमा ध्यान दिनुपर्ने बेला आएको छ । सरकारमा त हामी गइहाल्छौँ । कसरी सहभागी हुने, दलबाट को को सहभागी हुने भन्नेबारे छलफल हुनु पाएको छैन । सायद भोलिबाट हुने छलफलहरुमा यो विषयमा पनि सम्वादहरु होलान । सायद यो हप्ताभरीमा हामी सरकारमा गइसकेका हुन्छौँ । सरकारमा सामेल हुनै विषयमा चाहिँ प्रचुर मात्रामा छलफल भएको छैन । तर, चाँडै सरकारमा जान्छौँ ।

तपाईंहरुले सबै कम्युनिष्ट दलसँग एकता गर्ने भनेर पनि भन्नुभएको छ, यो सम्भव छ ?
राजनीतिमा असम्भव केही पनि हुँदैन । हामीले गर्छौँ, संवाद गर्छौँ र सफल बनाउँछौँ भनेका छौँ । अब पहिलो पटक गर्ने काम पनि यही नै हो । हामी मोहन वैद्यदेखि लिएर कम्युनिष्ट धारको सबै दलसँग एकताको लागि प्रयास गर्नेछौँ । देशको श्रोत/साधन सीमित छन् । धेरै कम्युनिष्ट दललाई श्रोत/साधनले धान्दैन पनि भनेर भनेका छौँ हामीले । देशमा एउटा वा दुईवटा कम्युनिष्ट पार्टी हुनुपर्छ, जसले कम्युनिष्ट आन्दोलनलाई आफ्नो काँधमा बोकेर हिँड्नेछ । हामी त्यस्तै पार्टी निर्माणको बाटोमा छौँ, प्रयासमा छोँ । यही धारणाअनुरूप हामी बृहत् कम्युनिष्ट एकताको पक्षमा बहस थाल्नेछौँ चाँडै ।

सबै दलसँग नगरे पनि तपाईंहरुले माओवादी केन्द्रसँग चाहिँ जरुर गर्नुहुन्छ होइन ?
होइन होइन, हामीले कम्युनिष्ट सिद्धान्तमा हिँडिरहेका सबै दलसँग बृहत् एकता गर्नेछौँ । त्यो प्रयास गर्नेछौँ । त्यो प्रचण्ड नेतृत्वको माओवादी होस्, वैद्य नेतृत्वको पार्टी होस् वा जुनसुकै पार्टी होस् । हामी बृहत् एकताका लागि आह्वान गर्नेछौँ, प्रयास गर्नेछौँ । हामी त्यो सम्भव बनाउँछौँ ।

अब तपाईंहरु कुन राजनीतिक सिद्धान्तको बाटो हिँड्नुहुन्छ ? कतिपय नेताहरुले जबज छोड्ने भनेर पनि भन्नुभएको छ नि ?
यो विषय हाम्रो छलफलरत विषय नै हो । हामीले चन्द्रागिरीमा पनि यो विषयमा छलफल गर्यौँ । तर, यही नै अवलम्बन गर्ने भन्ने निष्कर्षमा चाहिँ पुगेनौँ । त्यो विषयमा निष्कर्षमा पुगिसकेका छैनौँ । जबज छोड्ने, नछोड्नेबारे भने केही पनि भएको छैन । केपी ओलीले पनि जबज त मान्नुभएको छैन । उहाँले त सूर्यलाई ‘बा’ ब्राण्ड बनाइसक्नुभयो । हामीले चाहिँ अलम्बन नै गर्ने कि भन्ने छ अहिलेसम्म । सायद चाँडै यो विषयमा पनि निष्कर्षमा पुग्छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *