पाराओलम्पिक : ३६८६ खेलाडीले ५४० इभेन्टमा प्रतिस्पर्धा गर्दै

काठमाडौँ । गृष्मकालीन ओलम्पिकको सफल आयोजना गर्न सफल जापानले टोकियोमा पाराओलम्पिकको भव्य उद्घाटन गरेको छ ।

प्रतियोगिता टोकियोका २१ खेल स्थलमा १३ दिनसम्म (२४ अगस्टबाट ५ सेप्टेम्बरसम्म) चल्नेछ । प्रतियोगिता कोरोना महामारीका कारण निर्धारितभन्दा १ वर्ष ढिला शुरु भएको हो । टोकियोले दोस्रोपटक पाराओलम्पिक आयोजना गर्ने अवसर पाएको हो ।

पाराओलम्पिकमा विश्वभरका पारा (बिकलाङ्ग अर्थात् फरक ढंगले सक्षम) खेलाडीले प्रतिस्पर्धा गर्छन् । यो पटक टोकियो ओलम्पिकमा १३६ देशले सहभागिता जनाएका छन् । हरेक चार वर्षमा हुने प्रतियोगितामा यो पटक भुटान र गुयानाले डेब्यु गर्दैछन् । रसियाले रसियन ओलम्पिक कमिटीको नामबाट स्पर्धा गर्दा तालिवानको कब्जामा रहेको अफगानिस्तानका खेलाडी मैदानमा पठाउन असफल भएको छ । टोकियो पारा ओलम्पिकमा यो पटक ३६८६ खेलाडीले २२ खेलका ५४० इभेन्टमा सहभागिता जनाउने आयोजकले जनाएको छ ।

तीमध्ये अधिकांश खेल ओलम्पिकमा सहभागी भएकै खेलहरु हुनेछन् । जहाँ नियमहरू भने परिवर्तन गरिएको हुनेछ । दर्शक प्रवेशमा रोक लगाइएको छ भने कोरोना नियम कडाइका साथ लागू गरिएको छ ।

पारा ओलम्पिकमा पनि अहिलेसम्म सर्वाधिक पदक जित्ने देश अमेरिका हो । अमेरिकाले अहिलेसम्म पाराओलम्पिकमा २१७५ पदक जितेको छ । जसमा ७७२ स्वर्ण, ७०० रजत र ७०३ कांस्य पदक छन् । दोस्रो नम्बरमा रहेको बेलायतले ६२६ स्वर्ण, ५८४ रजत र ५७९ काश्यसहित कूल १७८९ पदक जितेको छ ।

चार वर्षअघि ब्राजिलको रियो दी जेनरियोमा भएको प्रतियोगितामा भने चीनले सर्वाधिक १०७ स्वर्ण, ८१ रजत र कांस्य जित्दै शीर्ष स्थान हासिल गरेको थियो ।

नेपालबाट एक्लो प्रतिस्पर्धी
पारा ओलम्पिकमा नेपालबाट भने पलेशा गोवर्द्धनले मात्र सहभागिता जनाउँदैछिन् । टोकियो पुगेकी पलेशाले तेक्वान्दोको के ४४ मा ५८ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । उनले १८ भदौमा प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको छ । नेपाल पारा ओलम्पिक कमिटीले समयमै नाम दर्ता नगर्दा पौडी खेलाडीले भने सहभागिता जनाउन पाएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *