नेपालको पार्टीको नामबाट ‘एमाले’ हट्ने, पुनःनिवेदन आजै ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको पार्टीको नामबाट ‘एमाले’ हट्ने भएको छ । नेकपा एमाले विभाजन गरेका नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले (समाजवादी) दर्ताका लागि गत बुधबार निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, आयोगले ‘अर्को नाम लिएर आउनू’ भनेपछि नेपालले ‘एमाले’ हटाएर पुनः दर्ताका लागि निवेदन दिने भएका हुन् ।

यसअघि हिजो आयोगले संशोधित व्यवस्थाअनुरूपको ‘फर्म्याट’ मा निवेदन दिनु भनेको थियो । यसपछि नेपाल समूहभित्र छलफल भइरहेको छ । ‘छलफल भइरहेको छ,’ नेता मेटमणि चौधरीले मकालुखबरसँग भने, ‘निर्वाचन आयोगको आग्रहबमोजिम पुनः जानेबारे छलफल भइरहेको छ ।’

आयोगकाअनुसार सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा ‘विशेषण’ झुन्ड्याएर अर्को दल दर्ता गर्न मिल्दैन । यसपछि नेपाल समूहले पार्टीको नामबाट ‘एमाले’ हटाउनेबारे छलफल गरिरहेको छ । ‘सायद एमाले हट्छ’ नेता चौधरीले भने, ‘यही विषयमा छलफलमै छौँ । लगभग यही हट्न सक्छ । किनकि उतापट्टिका साथीहरुको विरोध पनि यही विशेषणमै थियो ।’

अर्का एक नेताकाअनुसार पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी वा नेपाल कम्युनिष्ट पार्टी समाजवादी हुनेछ ।

नेपाल समूहले आजै निवेदन दिन्छ ?

नेता चौधरीले सम्भव भएसम्म आजै निवेदन दिने बताउँछन् । ‘छलफललगत्तै भन्ने दिर्ताको निवदेन दिने भन्नेबारे छलफल हुँदैछ,’ नेता चौधरीले भने, ‘अझै केही विषयमा सहमति जुट्न बाँकी छ । केही समयपछि हामी निष्कर्षमा पुग्छौँ ।’

समूहले प्रस्ताव गरेको चुनाव चिह्नमासमेत यसअघि विवाद देखिएको थियो । स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टीले खुला किताब आफ्नो चुनाव चिह्न भएको दाबी गरेपछि त्यसमा समेत छलफल चलिरहेको छ ।

फागुन २३ को फैसला बाधक

कुनै दलको नाम वा चिह्न आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिह्नसँग मिल्न गएमा त्यस्तो दल दर्ता हुन नसक्ने आयोगले जनाएको छ । सर्वोच्च अदालतले ०७७ फागुन २३ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर एमाले– माओवादी ब्युँताउँदा पनि सोही ऐनलाई आधार मानिएको आयोगका एक अधिकारीले मकालुखबरलाई जानकारी दिए ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ६ को ‘ङ’मा दलका नाम वा चिह्न आयोगमा दर्ता कायम रहेको दलका नाम वा चिह्नसँग मिल्ने भएमा दर्ता त्यस्तो दल दर्ता हुन नसक्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *