दल दर्ताका लागि नेपाल र ठाकुरले पुनः निवेदन दिनुपर्ने

काठमाडौं । नेकपा एमाले (समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) नामक दुई राजनीतिक दलले निर्वाचन आयोगमा पुनः निवेदन दिनुपर्ने भएको छ । उनीहरुले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ मा संशोधन भएपछि बन्ने कार्यविधिअनुरुप निवेदन दिनुपर्ने भएको हो । पुनर्प्रेषित निवेदन प्राप्त भएपछि मात्रै निर्वाचन आयोगले काम शुरु गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश  थपलियालाई उद्धृत गर्दै प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । ‘फर्म्यटमा नआएको कुरा आयोगमा छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भनेका छन् ।

यसअघि बुधबार (हिजो) मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।  अध्यादेश जारी भएपछि आयोगले बिहीबार (आज) अध्यादेशअनुरूप राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ संशोधन गरेको छ । प्रमुख आयुक्त थपलियाले नियमावली अध्यादेशअनुरूप संशोधन गरेर सम्पादनका लागि कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा पठाइसकिएको जानकारी दिए । अबको काम/कारबाही सोही संशोधनअनुरूप हुनेछन् ।

कानूनअनुसार त्यो प्रक्रिया पूरा हुन ४५ दिन लाग्छ । तर, आयोगले सकभर छिटो टुंग्याउने प्रयास गर्ने प्रवक्ता श्रेष्ठले बताएका छन् ।   कार्यविधिअनुरूपको आधिकारिक निवेदन दिइसकेपछि आयोगले दल दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा १० विषय हेर्नेछ । दल दर्तासम्बन्धी कानूनले विधान, घोषणापत्र, केन्द्रीय समितिका सदस्यहरू, पहिलेका पार्टी र अहिलेका पार्टीमा कति प्रतिशत आए, सांसद कतिलगायतका विषय आयोगले हेर्ने प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *