भारतले यसरी सम्भव बनायो लर्ड्समा इंग्ल्यान्डसँगको तेश्रो जीत

काठमाडाैँ । भारत र इंग्ल्यान्डको दोस्रो टेस्टमा भारतले १५१ रनको जित निकाल्न सफल भएको छ । यससँगै ५ खेलको शृंखलामा भारतले १-० को अग्रता लिएको छ । दोस्रो टेस्टको दोस्रो इनिङमा इङ्ल्यान्ड १२० रन बनाउँदै दिनको खेल सकिनु ४९ बल अगाडि अलआउट भयो ।

लर्ड्समा भएको खेलको अन्तिम दिन भारतले २ सय ९८ रन जोड्दै इनिङ समाप्तिको घोषणा गरेपछि इङ्ल्यान्डले २ सय ७२ रनको लक्ष्य पाएको थियो । यस्तो अबस्थामा खेल बराबरी हुने आँकलन गरिएको थियो। इंग्लिस टीमले लक्ष्य पुरा नगरेपनि क्रिजमा दिनको खेल सकिंदासम्म टिकेको भए खेल बराबरी हुने थियो ।

भारतीय बलरको आक्रामक बलिङसामु इंग्लिस टीम निरीह देखियो । भारतका मोहम्मद सिराजले चार, जसप्रित बुमराहले तीन र इशान्त शर्माले दुई विकेट लिए । भारतले चिया सत्रपछि मात्र ६ विकेट हात पार्दै इंग्ल्यान्डलाई निरीह बनाएको थियो ।

इङ्ल्यान्डका चार ब्याट्सम्यानले खाता खोल्न सकेनन् । ओपनरहरु रोरी बर्न्स र डम सिब्ली शून्य रनमा आउट हुँदा कप्तान जोए रुट ३३, तथा विकेटकिपर जोस बटलरले २५ र मोइन अलीले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसअघि पहिलो इनिङमा २७ रनले पछाडि परेको भारतले दोस्रो इनिङमा ८ विकेट गुमाएर २ सय ९८ रन जोड्दै इनिङ समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा भारतले ३ सय ६४ रन जोड्दा केएल राहुलले एक सय २९ रन बनाएका थिए। इङ्ल्यान्डको उत्कृष्ट प्रदर्शन गर्दै कप्तान जो रुटको १ सय ८० रनको मद्धतमा ३९१ रन बनाएको थियो ।

लर्डसमा भारतको तेस्रो जित
भारतले लर्ड्स मैदानमा खेलेका टेस्ट क्रिकेटमा यो तेस्रो जित हात पारेको हो । लर्डसमा अहिलेसम्म १९ टेस्ट खेल्दा इंग्ल्यान्डले १२ जीत हात पारेको छ । ४ टेस्ट बराबरी भएको छ । यसअघि सन् १९८६ र २०१४ मा भारतले लर्डसमा इंग्लिस टीम विरुद्ध जित हात पारेको थियो। २०१८ मा भएको पछिल्लो खेलमा इंग्ल्यान्ड एक इनिङ र १५९ रनले विजयी भएको थियो ।

अहिलेसम्म इंग्ल्यान्ड र भारत बिच कुल १२८ टेस्ट भएका छन्। जसमा भारतले केवल ३० खेलमा जित निकालेको छ। इंग्ल्यान्डले ४८ खेलमा जित निकाल्दा ५० खेल बराबरी भएका छन्। इंग्ल्यान्डमा भारतले कुल ६४ टेस्ट खेलेको छ। जसमा भारतले ८ तथा इंग्ल्यान्डले ३४ खेलमा जित निकालेका छन्। भने यि दुई बिच २२ बराबरी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *