महन्थको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पक्षको रिटमाथि सर्वोच्च अदालतमा सोमबार (आज) सुनुवाइ हुँदैछ ।

न्यायाधीशहरू दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । निर्वाचन आयोगले गत साउन ११ मा कार्यकारिणी समिति सदस्यको बहुमत संख्याको आधारमा जसपाको आधिकारिकता डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षलाई दिएको थियो ।

ठाकुर पक्षले निर्वाचन आयोगको निर्णय कार्यान्वयन भएको खण्डमा पार्टी विभाजन हुने र केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुने भन्दै निर्वाचन आयोगको निर्णय रोकिनुपर्ने भन्दै सर्वोच्च पुगेका हुन् ।

खासगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल हुने वा नहुनेबारे झगडिएका जसपाका दुई खेमा आयोगको निर्णयपछि आ–आफ्नै बाटो लागेका छन् । यादव पक्षले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने तयारी गरिरहँदा ठाकुर पक्ष जिल्लाकेन्द्रित भएर सर्वोच्चको फैसला कुरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *