काबुलको राष्ट्रपति कार्यालय तालिबानको कब्जामा

काठमाडाैँ । तालिबानले अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपतिको कार्यालयमाथि कब्जा जमाएको दाबी गरेको छ । राष्ट्रपति अशरफ गनी आइतबारै देश छोडेर हिँडेपछि तालिबानले यस्तो दाबी गरेको हो ।
अफगानिस्तानको अधिकांश भाग नियन्त्रणमा लिएर काबुललाई घेरेको तालिबानले जनधनको क्षति नगर्न ‘शान्तिपूर्ण शक्ति हस्तान्तरणको आशामा’ सहर प्रवेश नगरी काबुलको प्रवेशद्वारमा रहेको बताएको थियो । तर सहरमा लुटपाट हुन नदिन तालिबान लडाकुलाई सहर पस्न अनुमति दिइएको तालिबानका एक प्रवक्ताले बताएका छन् ।
याे पनि : अफगान राष्ट्रपतिले छाडे देश‚ ताजकिस्तान पुगेको दाबी
अफगानिस्तान र काबुलका बासिन्दाहरू डराउनु नपर्ने र तालिबानले बदला नलिने उनी बताउँछन् । स्थानीय पत्रकार बिलाल सार्वारीका अनुसार तालिबानसँग वार्ता गरिरहेका समूहले राष्ट्रपति कार्यालयमै शक्ति हस्तान्तरण हुने कुरो बताए पनि राष्ट्रपति गनीले आफ्ना सहयोगीहरू सहित देश छोडेका हुन् । राष्ट्रपति कार्यालयमा तालिबानले गरेको कब्जाबारे सरकारी अधिकारीबाट पुष्टि भएको छैन ।
अमेरिकी दूतावास सारियो
काबुललाई तालिबानले घेरेपछि अमेरिकाले आफ्नो दूतावास भवन छोड्दै काबुल अन्तर्राष्ट्रिय विमानस्थलको परिसरमा स्थानान्तरण गरेको छ । हेलिकप्टरबाट दूतावासका सबै कर्मचारी र झन्डालाई विमानस्थल परिसरमा सारिएको थियो ।
थप : चारैतिरबाट काबुल पसे तालिबानी लडाकू
आफ्ना नागरिकको सुरक्षा गर्न विमानस्थल परिसरमा ४,००० अमेरिकी सैनिक परिचालन गरिएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार अफगानिस्तानमा १,४०० अमेरिकी कर्मचारी थिए । तीमध्ये सानो समूह मात्रै केही समयका लागि काबुलमा रहने र बाँकीलाई त्यहाँबाट निकालिने जनाइएको छ । -बीबीसी








