लन्डनमा जारी गोर्खा सत्याग्रह

समानताका लागि मर्न तयार हुनेको कथा

काठमाडौ । प्रतिनिधिसभामा शुक्रबार कांग्रेस सांसद डिला संग्रौलाले सरकारलाई बेलायतमा अनसनरत भूपू गोर्खा सैनिकका माग सम्बोधन गर्न आग्रह गरिन् । यसका लागि कुटनीतिक पहल गर्नुपर्ने उनको माग छ । बेलायतमा भएको गोर्खा सत्याग्रह नामको आन्दोलनले अहिले नेपालमा बरु कम तर विश्वभर चर्चा भइरहेको छ । बीबीसी लगायतका विश्व मिडियाले पनि सत्याग्रहको बारेमा समाचार लेखेका छन । यसले झनै गोर्खा मुद्धालाइ चर्चित बनाएको छ ।

के हो गोर्खा सत्याग्रह ?
गोर्खा सत्याग्रह भनेको बेलायती सेनामा कार्यरत नेपाली गोर्खाहरुको समान पेन्सन र तलबको माग गर्दै आएको आन्दोलन हो । गोर्खा सत्याग्रहको स्थापना सन २०१२ मा भएको थियो । यसका संस्थापक ज्ञानराज राई हुन् । उनले बेलायती राजधानी लन्डनको डाउनिङ स्ट्रिट मा सन २०१३ मा भोक हड्ताल गरेका थिए । उनी १५ दिन हड्तालमा बसे । बेलायत सरकारले माग पूरा गर्न वार्ताको लागी तयार भएको बताएपछि उनले भोक हड्ताल त्यागे । तर, माग पूरा भएन ।

के छन् सत्याग्रहका माग ?
सन १९९७ अगाडि अवकास भएका गोर्खा सैनिकहरुको पेन्सन अन्यको भन्दा धेरै थोरै भएको भन्ने माग सत्याग्रह आन्दोलनको छ । सत्याग्रहका प्रारम्भकर्ता ज्ञानराज राईले आफूले ४७ पाउन्ड मात्रै पेन्सन पाउँदा आफ्ना बेलायती समकक्षीले भने मासिक ८०० पाउन्ड पाउने बताए ।

याे पनि : बेलायतमा धर्नामा रहेका गोर्खा सैनिकबारे संसदमा कुरा उठ्यो

यस्तै सेवाबाट एकमुस्ट रकम लिँदा आफूहरुले तीन हजार पाउन्ड लिएपनि बेलायती समकक्षीहरुले भने ६० देखि ७० हजारसम्म लिने राईले बीबीसीसँग दुखेसो गरेका छन् । सन २००९ बाट कानुनी लडाइ जितेर बेलायतमै आवाशीय सुविधा पाएका गोर्खाहरुलाइ यो रकम हदै थोरै भएको राईले बताए । बीबीसीसँग बोलेका सत्याग्राहि धन गुरुङले आफ्नो मासिक पेन्सन आफूले सन १९९४ मा अवकास हुँदा २० पाउन्ड मात्रै भएको भन्दै कसरी घरपरिवार पाल्ने भनेर गुनासो गरेका छन् । बेलायतको एक पाउन्ड बराबर नेपाली रुपैयाँ १६४ हाराहारी हुन्छ ।

कस्तो छ बेलायती सरकारको प्रतिकृया ?
जुलाइ २१ बाट रिले अनसन सुरु भएको आन्दोलन अगस्ट ७ बाट आमरण अनसनमा पुगेको छ । आमरण अनसनमा पुग्दा पनि बेलायत सरकारले खासै सम्बोधन गरेको छैन । बेलायतको स्काइ न्यूजसँग बोल्दै बेलायती रक्षा सचिव बेन वालेसले आफू जुनसुकै गोर्खा सैनिकसँग पनि कुरा गर्न तयार भएको बताएका छन् ।

थप : भूपू गोर्खाहरूको आमरण अनसनमा बेलायती प्रहरीको हस्तक्षेप

तर माग पूरा गर्ने बारेमा उनी मौन छन् । सामान्य कुरामा सार्वजनिक प्रतिक्रिया दिने बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन । उनले गोर्खाको आन्दोलनलाइ सम्बोधन हुने कुनै कदम समेत चालेका छैनन् ।

यस्तो छ बेलायती गोर्खा सैनिकको इतिहास
सन् १८१५ को अप्रिल २४ मा पहिलो गोर्खा फौज तयार भएको थियो । बेलायतको भारत शासन गर्ने इस्ट इन्डिया कम्पनीले सुरु गरेको भर्ना दक्षिण एसियामा मात्रै सिमित भएन । पहिलो र दोश्रो विश्वयुद्ध हुँदै बेलायती उपनिवेश भएको एसिया, अफ्रिकादेखि दक्षिण अमेरिकासम्म गोर्खाहरुले लडेका छन् ।

बीबीसीका अनुसार पहिलो र दोश्रो विश्वयुद्धमा ४३ हजार गोर्खाहरुको मृत्यु भएको थियो । दोश्रो विश्वयुद्धताका १ लाख १२ हजार संख्याको गोर्खा सैनिक अहिले बेलायतमा ३ हजार ५ सय मात्रै सीमित भएको छ । अहिलेसम्म बेलायती सैनिक सेवाको सर्र्वाेच्च पदक भिक्टोरिया क्रस पाउने नेपाली गौर्खा सैनिकहरु १३ जना छन् । रामबहादुर लिम्बु एक्ला जीवित भिसी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *