बेलायतमा धर्नामा रहेका गोर्खा सैनिकबारे संसदमा कुरा उठ्यो

काठमाडौँ । समान सुविधालगायत माग राख्दै बेलायतमा धर्नामा रहेका भुपू गोर्खा सैनिक र उनीहरुका मागबारे कुटनीतिक पहल गर्न प्रतिनिधिसभामा कुरा उठेको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद डा. डिला संग्रौलाले संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिक अहिले आफ्नै लागि न्याय माग्दै शनिबारदेखि लन्डनमा आमरण अनशन बसिरहेको र उनीहरुको जीवन रक्षा गर्नु नेपाल सरकारको कर्तव्य भएकाले तत्काल कूटनीतिक मध्यमद्वारा बेलायत सरकारसँग कुटनीतिक रुपमा समस्या समाधानका लागि वार्ता गर्न माग गरिन् ।

संसारभरि नेपालको शिर ठाडो पारेका गोर्खाहरुलाई मर्का पर्दा साथ दिनु सबैको दायित्व भएको भन्दै उनले वार्ता समिति गठन गर्न, वार्ताको मिति र स्थान तोक्न पहल गर्न पनि माग गरिन् ।

संग्रौलाले राखेको विचार जस्ताको त्यस्तै-

नेपाल तथा ब्रिटेनबीच २०० वर्ष भन्दा लामो ऐतिहासिक सम्बन्ध छ र त्यो सम्बन्धको जग भनेको गोर्खा सैनिकहरु हुन् ।

संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिकहरु अहिले आफ्नै लागि न्याय माग्दै शनिबारदेखि ब्रिटिश प्रधानमन्त्री कार्यालय नजिकै लन्डनमा आमरण अनशन बसिरहेका छन् ।  उनीहरुको जीवन रक्षा गर्नु नेपाल सरकारको कर्तव्य हो । त्यसैले म नेपाल सरकारलाई तत्काल कूटनीतिक मध्यमद्वारा ब्रिटिस सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गर्न, वार्ताको मिति र स्थान तोक्न पहल गर्न आग्रह गर्दछु ।   संसारभरि नेपालको शिर ठाडो पारेका गोर्खालीहरूलाई मर्का पर्दा साथ दिनु हामी सबैको दायित्व  हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *