फुटबलर शान्तालाई सहयोग

काठमाडौं । फुटबलर शान्ता नेपालीलाई नेप्लेज डटकमले सञ्चालन गरेको सहयोग अभियान अन्तर्गत शुक्रबार २ लाख ५९ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । तीन साताअघि नेप्लेजले शान्ताको आर्थिक अवस्थाका विषयमा भिडियो तयार पारि युट्युवमा प्रशारण गरेको थियो । उक्त भिडियो सार्वजनिक भएपछि देश विदेशमा रहेका नेपालीहरुले सहयोग गरेका हुन् ।

शुक्रबार वालिङ नगरपालिकाको सभाहलमा भएको एक समारोहकाबीचमा नगरपालिकाका मेयर दिलीप प्रताप खाँडको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । शान्तालाई नेपाली राष्ट्रिय फुटबल टिमका तर्फबाट नगद एक लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो । नगदसहित टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शान्तालाई आगामी दिनको शुभकामना दिएका थिए ।

यसैगरी युकेमा बस्ने सुनिल प्रधानले गो फण्ड युके मार्फत सहयोग रकम जुटाउन सहयोग गरेका थिए । उनले सबैसँगबाट एक लाख रुपैयाँ सहयोग रकम पठाएका थिए । यसैगरी अस्ट्रेलियाबाट मुकुल क्षेत्रीले व्यक्तिगत रुपमा ५० हजार तीन सय रुपैयाँ सहयोग गरेका छन् । शान्तालाई केल्मी नेपालले एक सेट ट्रयाक सुट पनि प्रदान गरेको थियो ।

कार्यक्रममा मेयर खाँडले शान्ताको परिवारलाई नगरपालिकाले पाँच आना जग्गा दिने प्रक्रिया अघि बढाइएको जानकारी दिए । वडानम्बर ८ का सात परिवारलाई जग्गा दिने प्रक्रिया अघि बढाइएकोमा शान्ताको नाममा मात्रै जग्गा पास हुन बाँकी रहेको बताए । अहिले वालिङ खेल मैदानको छेउँमा रहेको शौचालयको छतमा दुई कोठाको बस्ने बास्थान पाएकी शान्ताको परिवारलाई आफूहरुले आउँदा दिनमा पनि सहयोग गर्ने बताए ।

विगतमा देशभरका स्थानीय तहहरुमा सर्वाधिक खेलकुदमा बजेट विनियोजन गरेको स्मरण गर्दै खेलकुदको विकासका लागि आफूले चाहँदा चाँहदै पनि बजेट खर्च हुन नसकेको पनि बताए । उनले खेलकुदको राम्रो योजना लिएर आउनेलाई आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए । यसैगरी नगरपालिकाले खेलाडीका घरपरिवारको एक लाख बराबरको स्वास्थ्य बिमा पनि गरिएको जानकारी दिए ।

कार्यक्रममा स्कुल अफ डेमोक्रेसी संस्थाका स्याङ्जा अध्यक्ष अनुप श्रेष्ठले शान्तालाई नगरपालिकाले दिने पाँच आना जग्गामा दुई कोठे घर आफूहरुले निर्माण नै निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन् । सहयोग रकम ग्रहण गरेपछि शान्ताले यो सहयोगले आफूलाई ठूलो सहयोग पुग्ने बताइन् । सहयोगी मनहरुलाई धन्यवाद दिँदै आगामी दिनमा अझ राम्रोसँग खेल्न प्रेरणा मिल्ने बताए ।

कार्यक्रमका सभापति ट्रिनिटी क्लबका अध्यक्ष राजु गुरुङले खेलकुदमा सबैसँगै मिलेर अघि बढ्दा वालिङको नाम चिनाउन सजिलो हुने बताए । राजनीतिक आस्थाका आधारमा भन्दा पनि खेलकुदको भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

पवर्तको मार्दी क्लबलाई पनि सहयोग
कार्यक्रममा पवर्तको मार्दी क्लबलाई पनि खेल सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि खाँड र सभापति गुरुङले मार्दी क्लबका प्रशिक्षक अविनाश बस्याल (अर्जुन) लाई बल र जर्सी सेट प्रदान गरेका थिए । केल्मी नेपाल र प्रशिक्षक अब्दुल्लाहको तर्फबाट १० वटा बल र १० सेट जर्सी सहयोगका लागि प्राप्त भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *