यूरोपका प्रतिष्ठित फुटबल लिगहरू आजबाट

फिका बन्दै ला लिगा, पीएसजीले बढाएको चर्चा

विश्व फुटबल समर्थकमाझ लोकप्रिय यूरोपेली शीर्ष लिग आजबाट सुरू हुँदैछन् । इंग्ल्यान्ड, स्पेन, जर्मनी, फ्रान्स तथा इटालीका घरेलु प्रतियोगिता सुरू हुँदा त्यसको तरंग भने विश्वभर फैलिने गरेको छ ।

विश्व फुटबलमा ‘आफ्ना’ क्लबलाई लिएर समर्थक विभाजित हुने गरेका छन् । क्लबहरूबीच यी प्रतियोगिताको उपाधि दाबेदारी त हुन्छ नै‚ उपाधि नभए च्याम्पियन्स लिग छनोटको आधार अर्थात् शीर्ष चारमा पर्ने होड पहिलो खेलबाटै शुरु हुनेछ ।

इङ्ग्ल्यान्डको प्रिमयर लिग, स्पेनको ला लिगा, जर्मनीको बुन्डेस लिगा, फ्रान्सको लिग वान, अन्य लिगको खेल भने आज(शुक्रबार) बाट सुरु हुँदैछ । इटालीको प्रतियोगिता सिरीज ए भने केही पछि मात्र सुरू हुनेछ ।

विशेषगरी यी पाँच देशका क्लबहरूले लिगका लागि विश्वचर्चित खेलाडी अनुबन्ध गर्न लाखौँ रकम खर्च गर्दै आएका छन् ।

लालिगा : आकर्षण कम तर युवामा दम !
विश्व चर्चित फुटबलरले भरिने स्पेनिस लालिगा यो पटक फिक्का छ । आर्थिक अjस्था कमजोर भएको भन्दै ला लिगामाथि निरन्तर प्रश्न उठ्दा स्पेनिस लिगको समग्र स्तर नै कमजोर भएको आकलन गर्न थालिएको छ ।

तीन वर्षअघिसम्म युरोपेली फुटबलमा एकछत्र राज गरेको स्पेनिस टीममा सिजन सुरुवात हुन लाग्दा पनि यो पटक खास्सै उत्साह छैन । कुनै पनि क्लबले चर्चित खेलाडीलाई नयाँ अनुबन्ध गरेका छैनन् । बरु भएका खेलाडीलाई पनि रिलिज गर्ने र क्लबमा राख्न नसक्ने अवस्था बढ्दै गएको छ । पछिल्लो पटक लियोनेल मेस्सीले बार्सिलोना छाडेपछि बार्सिलोनालाई मात्र होइन‚ समग्र लालिगामा नै असर परेको छ ।

कोभिड–१९ महामारीका कारण ला लिगाले गएको सिजन करिब दुई अर्ब युरो घाटा व्यहोरेको जनाइएको छ । क्लबहरू पनि ठूलो ऋणमा छन् । बार्सिलोना क्लबको ऋण एक अर्ब २० करोडमाथि पुगेकाले मेस्सीलाई क्लबमा राख्न नसकिएको दाबी गरिएको छ । आर्थिक संकटबाट मुक्त हुने पहिलो पाइला स्वरूप ला लिगाले खेलाडीको पारिश्रमिकको सीमा पनि तोकेको छ । बार्सिलोनामात्र होइन, अधिकांश क्लब नयाँ आर्थिक स्रोतको खोजीमा छन् ।

तर यो पटक चर्चित नाम नभएपनि स्पेनिस ला लिगामा युवा स्टार उदयको वर्ष हुने पक्का छ । किनभने स्पेनले यूरो तथा ओलम्पिकमा गरेको प्रदर्शनले लिगको रोमाञ्चकतालाई बचाउने आकलन गरिएको छ । ला लिगाको पहिलो खेलमा शुक्रबार भ्यालेन्सिया र गेटाफे खेल्दैछन् ।

इङ्ग्लिस प्रिमियर लिग: सधैँकै क्लबहरूको दबदबा
इङ्ग्लिस प्रिमियर लिग विश्व फुटबलमा सर्वाधिक दबदबा सिर्जना गर्ने प्रतियोगिता हो । सर्वाधिक प्रतिस्पर्धात्मक लिगका रुपमा रहेको इङ्ग्लिस प्रिमियर लिगको यो सिजनको पहिलो खेलमा शुक्रबार राति आर्सनलले ब्रेनफोर्डसँग खेल्दैछ । सधैँ झैँ यो पटक पनि म्यानचेस्टर सिटी आक्रमक रहेको छ । चेल्सीले पनि क्लब इतिहासकै कीर्तिमानी मूल्यमा ७ वर्षपछि आफ्ना स्टार रोमेलु लुकाकुलाई क्लबमा भित्र्याएको छ ।

लिभरपुलले भने गत सिजनकै स्क्वाडलाई विश्वास गरेको छ । प्रतिस्पर्धात्मक हुने लिगमा म्यानचेस्टर युनाइटेड, टोटनह्याम तथा आर्सनल पनि उपाधि होडमा अब्बल मानिन्छन् । यद्यपि पछिल्ला केहि संस्करणमा सिटी दबदबा बढी देखिन्छ । म्यान यू खराब लयबाट गुज्रिरहेको छ भने टोटनह्याम नयाँ प्रशिक्षकका साथमा प्रतियोगितामा फर्किने दाउमा छ । आर्सनल पनि अघिल्ला केही सिजनको खराब प्रदर्शनबाट समर्थकलाई खुसी दिलाउनुपर्ने दबाबमा छ ।

लिग वान : पीएसजीले बढाएको चर्चा
यूरोपको शीर्ष पाँच लिगमा केहि वर्षअघिसम्म कम चर्चामा रहने गरेको फ्रेन्च लिग वानको चर्चा केहि वर्षयता निरन्तर बढ्दो छ । विशेषतः लिगमा एक छत्र राज गर्दै आएको पीएसजीले एकपछि अर्को गर्दै विश्व चर्चित स्टार अनुबन्ध गर्दै चर्चा चुल्याएको छ । यसैक्रममा यो पटक स्टार लियोनेल मेस्सीलाई अनुबन्ध गरेपछि लिग वानले विश्वका थप दर्शकको ध्यान बढाउने निश्चित छ ।

यो पटक पीएसजीले अहिलेसम्मकै बलियो टीम बनाएको भन्दै लिग वानमात्र होइन‚ च्याम्पियन्स लिगकै मुख्य दाबेदारका रुपमा हेरिएको छ । पीएसजीमा अब नेयमार, मेस्सी तथा एम्बाप्पेको आक्रमण लाइन कस्तो होला भन्ने चासो सबैमा छ । यस सिजनको लिग वानको सुरुवात शुक्रबार राति लोरियन्ट र मोनाकोको खेलबाट हुँदैछ ।

बुन्डेस लिगा र वार्यनको राज
जर्मनीको प्रतिष्ठित बुन्डेसलिगामा सधैँ जस्तै यो पटक पनि वायर्न म्युनिखको दबदबा कायम रहने आकलन गरिएको छ । शुक्रबार नयाँ सिजनको सुरुवात हुँदै गर्दा डिफेन्डिङ च्याम्पियन बायर्नले बोरुसिया मोन्चेनग्लाडबाखको सामना गर्नेछ ।

वायर्नको नयाँ प्रशिक्षकमा ३४ वर्षीय जुलियन नागेल्समन रहेकाले क्लबको प्रतिष्ठा कायम राख्न उनीमाथि चर्को दबाब रहनेछ । उनी बायर्नलाई लगातार दशौँ उपाधि दिलाउने प्रयासमा हुनेछन् । तर‚ यो पटक बोरुसया डर्टमुन्ड तथा आरबी लाइपजिङ्ग पनि कडा चुनौतीका लागि तयार छन् । तर वायर्नको सनसनी तोड्न उनीहरूलाई सहज भने नहुने आकलन गरिएको छ ।

फुटबलमा मात्र होइन‚ कुनैपनि खेलमा अप्रत्यासित नतिजाको सम्भावना पनि उत्तिकै हुन्छ । शुक्रबार रातिबाट शुरु हुँदै गर्दा यी प्रतियोगितामा पनि केही खेलमा अप्रत्यासित नतिजा आउने नै छ । शीर्ष चारको होडमा केही नयाँ क्लबहरूले आफूलाई उभ्याउने सम्भावना पनि छ ।

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *