अस्ट्रेलियामा खेलाडीलाई २८ दिनसम्मको क्वारेन्टीन

अनावश्यक दुःख दिइएको भन्दै आलोचना

काठमाडौँ । टोक्यो ओलम्पिकमा सहभागी खेलाडीहरू घर फर्किरहेका छन् । पदक जितेका‚ अझ स्वर्ण नै जितेकाहरूको सम्मानमा त राज्यले कुनै कसर बाँकी राखेको छैन । तर‚ टोक्यो ओलम्पिकमा सहभागी र पदक विजेता अस्ट्रेलियाली खेलाडीहरूले भने अपमानित महसुस गर्नुपरेको छ ।

कोभिडविरुद्धको दुई डोज खोप लगाएर टोक्यो पुगेका खेलाडीको हरेक दिनजसो परीक्षण गरिएको थियो । विमानस्थलमा समेत कोरोना परीक्षण गरियो । यद्यपि उनीहरूमाथि अहिले कडा कोरोना प्रोटोकल नियम लागू गरिएको छ । अस्ट्रेलियाले टोक्यो ‌ओलम्पिकमा १७ स्वर्ण ७ रजत र २२ कांस्यसहित कुल ४६ पदक जितेको थियो ।

टोक्योबाट एडीलेडमा पुगेका खेलाडीले कम्तीमा १४ दिन क्वारेन्टीनमा बस्नुपर्ने भएको छ । यदि कुनै खेलाडीले टोक्योबाट एडीलेडको लागि सिधा उडानको टिकट नपाएमा भने २८ दिनको क्वारेन्टीन बस्नुपर्ने बाध्यता छ ।

अस्ट्रेलियाले टोक्यो ओलम्पिकमा खेलाडी तथा प्रशिक्षक गरी ५०० जना पठाएको थियो । अझै ५६ खेलाडी स्वदेश फर्कन बाँकी छ । १६ जना खेलाडी सिड्नीमा पहिलेबाटै क्वारेन्टीनमा छन् । अस्ट्रेलियाली ओलम्पिक कमिटीका सीईओ म्याट क्यारोलले खेलाडीमाथि भएको व्यवहारको कडा आलोचना गरेका छन् ।

म्याटले भने‚ ‘अन्य देशमा पदक जितेको खुसी मनाइरहँदा हाम्रा खेलाडी भने क्रुरताको सामना गर्न बाध्य भएका छन् । हाम्रा खेलाडीले देशलाई गौरवान्वित बनाएको सजाय पाइरहेका छन् ।’ म्याटले २८ दिनको क्वारेन्टीन १४ दिन बनाइदिन आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै खेलाडीमाथि यो भन्दा ठूलो अर्को सजाय नहुने टिप्पणी गरेका छन् ।

अस्ट्रेलियामा अहिलेसम्म कोरोनाबाट ३७ हजार नागरिक संक्रमित भएका छन् भने ९४० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *