मेस्सीलाई जर्सी नम्बर ३०

काठमाडौँ । सबै खाले अनुमान र हल्लाहरुलाई अन्त गर्दै लियोनेल मेस्सी पीएसजीमा अनुबन्ध भएका छन् । उनले आफ्नो आइकोनिक जर्सी नम्बर १० को ठाउँमा जर्सी नम्बर ३० लगाउने छन् । सोमबार बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) पुगेका मेस्सीले स्वास्थ्य परीक्षणलगतै सम्झौता पत्रमा हस्ताक्षर गरे ।

पीएसजीसँग २ वर्षको सम्झौता गरेका मेस्सीले थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प खुल्ला राखिएको छ । फ्रि एजेन्ट मेस्सीलाई हस्ताक्षर गरेबापत २५ मिलियन युरो तथा प्रति वर्ष २५ मिलियन युरोमा अनुबन्ध गरेको हो । यसबाहेक टोलीको सफलता र व्यक्तिगत प्रदर्शनअनुसार बोनस पनि रहने छ ।

उनका साथी नेयमारले जर्सी नम्बर १० मेस्सीलाई दिन चाहे पनि उनले आफै अस्वीकार गर्दै जर्सी नम्बर ३० लगाउने निर्णय गरे । क्लबसँग सम्झौतालगत्तै मेस्सीले पीएसजी आफ्नो लागि उचित गन्तव्य भएको बताए । ‘म पेरिसमा रहेर आफ्नो करिअरको नयाँ अध्याय सुरु गर्न उत्सुक छु । साथै क्लबसँग अघि बढेर सफलता हासिल गर्न चाहान्छु ।’

क्लबका अध्यक्ष नासेर अल खलिफाले मेस्सी अनुबन्ध गर्न पाउँदा निकै खुसी रहेको बताए । उनले भने, ‘म धेरै खुसी छु मेस्सीलाई पीएसजी परिवारको हिस्सा बन्नाउन पाउँदा ।’ उनले मेस्सीको उपस्थितीले क्लबलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *