नयाँ सरकार बनेपछि पहिलोपटक संसद्‌मा सम्बोधन गर्दै ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि पहिलो पटक प्रतिनिधि सभामा सम्बोधन गर्दैछन् । एमाले प्रमुख सचेतक विशाल भट्टराईकाअनुसार मंगलबार (आज) दिउँसो १ बजेबाट शुरु हुने प्रतिनिधि सभा बैठकलाई ओलीले सम्बोधन गर्न लागेका हुन् । ‘सर्वोच्चले परमादेश दिएर नयाँ सरकार बनेपछि उहाँ (ओली) ले पहिलो पटक सम्बोधन गर्दै हुनुहुन्छ,’ सचेतक भट्टराईले भने, ‘उहाँले पूर्वप्रधानमन्त्री भएको अनुभव र वर्तमान राष्ट्रिय साजनीतिको गन्जागोलबारे संसद्मा बोल्नुहुनेछ ।’

स्वयम् ओलीले दोस्रो पटक ०७८ जेठ ८ गते मध्यरातमा प्रतिनिधि सभा भङ्ग गरेका थिए । त्यसपछि कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी, माधवकुमार नेपाल–झलनाथ खनालपक्षीय एमाले र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा प्रतिनिधि सभा भङ्गविरुद्ध सर्वोच्चमा रिट हालेका थिए । प्रतिनिधि सभा पुनःस्थापनासँगै कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने विपक्षीहरुको रितमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले असार २८ गते संसद् ब्युँतेको फैसला गरेको थियो ।

यसबीचमा ओली प्रतिनिधि सभाको बैठकमा कम मात्रामा उपस्थित भएका छन् । यसअघि गत असार ३ गते नवनियुक्त प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा पनि बैठकको अन्त्यमा संसद् भवन छिरेका ओलीले त्यसयता संसद्मा बोलेका छैनन् । आजको बैठकमा भने ओलीले प्रमुख प्रतिपक्षीको संसदीय दलको नेताको हैसियतमा बोल्न लागेका हुन् ।

०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधि सभा भङ्ग गरेका ओलीले त्यसपछि संसद्मा कम मात्रामा बोलेका छन् । सर्वोच्चको परमादेशपछि गत असार २९ गते प्रधानमन्त्री सरकारी निवास बालुवाटार छाडेका ओलीले निजी निवास बालकोट पुगेर भनेका थिए— ‘सर्वोच्चको कहीँ नभएको फैसलाले यी सब भयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *