सरकारमा जान जसपालाई किन सकस ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अझैसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । सरकार बनेको महिना दिन बित्नै लाग्दासमेत सरकारमा अधिकांश मन्त्रालय मन्त्रीविहीन छन् । कांग्रेससँगै माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को सहभागितामा मन्त्रिपरिषद् विस्तार हुने भनिएपनि अझैसम्म हुन सकेको छैन । गठबन्धनलाई सरकार बनाउन सहयोग गरेका माधवकुमार नेपाल–झलनाथ खनालपक्षीय एमाले र राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नहुने बताइसकेका छन् ।

तैपनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिनसकेका छैनन् । पार्टीभित्रैको किचलो र दबाब तथा गठबन्धनका दलहरुलाई मिलाउने काममा सत्तारुढ गठबन्धनलाई सफलता मिलेको छैन । गत साउन ११ गते निर्वाचन आयोगले डा. बाबुराम भट्टराई–उपेन्द्र यादवपक्षीय जसपालाई पार्टीको आधिकारिकता दिएपछि तत्कालै मन्त्रिपरिषद् विस्तार हुने अधिकांशको बुझाइ थियो, स्वयम् नेताहरुले नै पनि त्यस्तै बताउँदै आएका थिए । तर, त्यसो भएन । १२ गते बसेको गठबन्धनको बैठकले ‘नेपाल–खनाल पक्षलाई पनि पर्खिने’ भनेर भन्यो, त्यसयता मन्त्रिपरिषद्बारे आकलझुकल छलफल हुँदै आएपनि मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी नै भने बैठक बसेको छैन ।

000

मन्त्रिपरिषद् विस्तारका क्रममा सत्तारुढ गठबन्धनबीचको हानाथाप त छँदैछ । त्यसमा पनि कुन दललाई कुन मन्त्रालय र कुन नेतालाई कुन मन्त्री भन्ने विषय प्रधान बन्दै आएको छ । ‘मन्त्रिपरिषद् विस्तार हुन नसक्नुको धेरैवटा कारणहरु होलान्,’ जसपाका एक नेताले मकालुखबरसँग भने, ‘त्यसमध्येमा दलगत स्वार्थ र आफ्नै मान्छे वा आफ्नै पार्टीको मन्त्री बनोस् भन्ने भावनाले पनि असर गरेको देख्छु ।’

मन्त्री बन्न सबै सांसद लबिङ्गमा छन् ।

अहिलेसम्म कांग्रेसको तर्फबाट बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री र उमेश श्रेष्ठ स्वास्थ्यराज्यमन्त्री बनेका छन् भने माओवादीबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन् । यसपछि जसपा चाँडै सरकारमा जाने र नेताहरु मन्त्री बन्ने भनिएपनि त्यसो हुन सकेको छैन ।

गत साउन ११ गते नै जसपा अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको प्राङ्गणमा ‘चाँडै नै सरकारमा सामेल हुन्छौँ’ भनेको २ हप्ता बितिसक्दासमेत जसपा सरकारमा जान सकेको छैन । सरकारमा जान किन ढिलाइ गर्नुभयो ? भन्ने प्रश्नमा गठबन्धन कार्यदलका सदस्यसमेत रहेका जसपा नेता महिन्द्रराय यादव भन्छन्, ‘कामकुरा हुँदैछ, शीर्ष नेतृत्व तहमा कुराकानी हुँदैछ, प्रक्रिया पूरा भएको छैन, त्यसैले सरकारमा सामेल भइसक्ने अवस्था बनेको छैन । अब चाँडै हामी पनि सरकारमा जान्छौँ र मन्त्रिपरिषद्लाई पूर्णता दिन्छौँ ।’

000

त्यसो त ‘देउवा जसपालाई उपप्रधानमन्त्री दिन तयार नभएपछि जसपाले सरकारमा जान ढिलाइ गरेको विश्लेषण पनि हुन थालेको छ । तर नेता यादव यसलाई अस्वीकार गर्छन्, भन्छन्— ‘उपप्रधानमन्त्री नदिने भनेपछि ढिलो भएको होइन, अहिले हामी पदको बागेीनिङ्गमा छैनौँ । हामी सरकारलाई मज्जाले हाँक्ने भनेका छौँ ।’

खेमा बदलेर यादवलाई साथ दिएका महिन्द्रराय यादव र मृगेन्द्रकुमार सिंह यादवलाई मन्त्री बन्नबाट रोक्न अरु सांसद लागेका छन् ।

गठबन्धनमा मन्त्रालय बाँडफाँट गर्दा मन्त्रालयीय सन्तुलन मिलाउनुपर्ने नेताहरुबीच सहमति भएको थियो । कांग्रेसले गृहसँगै कानून र माओवादीले अर्थसँगै ऊर्जा पाएपछि आफूले उपप्रधान पाउनुपर्ने जसपाको माग छ । ‘गठबन्धनबाट अगाडि जाँदा बराबरी र सन्तुलित रुपमा अगाडि जानुपर्छ भन्ने हामी सबैको हो,’ एक नेताले मकालुखबरसँग भने, ‘जत्तिसक्दो यसैगरी अगाडि बढ्ने कोसिसमा छौँ ।’

जसपाको कार्यकारिणी बैठक सोमबार बसिरहेको छ । उक्त बैठकले सरकारमा जाने विषयमै छलफलमा गरिरहेको बैठकस्थलबाट नेतृ रेनुकुमारी यादवले मकालुखबरलाई जानकारी दिइन् ।

000

त्यसो त जसपाभित्रै पनि मन्त्री बन्न नेताहरु ‘पर्सनल लबिङ्ग’ मा लागेका छन् । नेता रामसहाय यादवले मकालुखबरसँग भने, ‘मन्त्रिपरिषद् विस्तार हुन नसकेको सत्य हो । तर, बाहिर बसेर आलोचना गर्नुजत्ति सजिलो छैन । दलगत समस्याहरु पनि उस्तै छन् । दलमा सबै नेताहरु मन्त्री बन्ने लबिङ्गमा लागेका छन् । यसले पनि केही समस्या ल्याएको हुनसक्छ ।’

मन्त्री बन्नकै लागि संसद् पुनःस्थापनापछि महन्थ ठाकुर पक्षका १० जना सांसद उपेन्द्र यादव पक्षमा लागेका छन् । उनीहरू मन्त्री बन्न नपाए यादवको साथमा रहन गाह्रो हुने नेताहरुले बताएका छन् । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलगायत शीर्ष नेता बाहिरबाट सरकारमा मन्त्री पठाउने र त्यसमा बहुमत जुटाउने पक्षमा देखिन्छन् ।

खेमा बदलेर यादवलाई साथ दिएका महिन्द्रराय यादव र मृगेन्द्रकुमार सिंह यादवलाई मन्त्री बन्नबाट रोक्न अरु सांसद लागेका छन् । मृगेन्द्र प्रतिनिधि सभा चुनाव हारेर राष्ट्रिय सभामा आएकाले उनलाई ‘नारायणकाजी’ रोक्ने संवैधानिक अस्त्र प्रयोग भएको छ ।

000

अशोक राई पक्षबाट राजेन्द्र श्रेष्ठ मन्त्री बन्न र सरकारको नेतृत्व गरेर जान ‘लबिङ्ग’मा छन् । तर, जसपाको जनाधार नै मधेश भएको र काठमाडौं जिल्लाभरीबाट ५ हजार मतसमेत ल्याउन नसक्ने श्रेष्ठलाई मन्त्री बनाउन नहुने भन्दै मधेशबाट निर्वाचित सांसदहरू विरोधमा छन् । ‘यस्तो भएपछि पनि हामी तत्काल मन्त्रिपरिषद्मा जान सकेनौँ,’ उपेन्द्र यादवनिकट एक नेताले भने, ‘आपसमा नलडेको भए सायद चाँडै सरकारमा जान्थ्यौँ होला ।’

वर्तमान सरकारमा जसपाले बढीमा ६ मन्त्री पाउँदैछ । तर, सबै सांसद मन्त्रीको आकांक्षी हुँदा समस्या भएको उनको भनाइ छ । संसद् पुनःस्थापनाअघि यादवसँग १२ जना सांसद थिए भने महन्थ पक्षमा २० जना थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *