टोक्यो ओलम्पिक : ११३ देश पदकविहीन

काठमाडौँ । कोरोना महामारीको चुनौतीबीच टोक्यो ओलम्पिक सफलतापूर्वक सम्पन्न भएको छ । २३ जुलाईबाट सुरू भएको प्रतियोगिता १९ दिन चलेको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)का अध्यक्ष थोमस बाकले आइतबार टोक्यो ओलम्पिक २०२० को समापनको घोषणा गरेका थिए ।

अब अर्को ओलम्पिक २०२४ मा पेरिसमा हुनेछ ।

टोक्यो ओलम्पिकमा ३३ खेलका ३३९ इभेन्टमा २०६ देशका ११ हजार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जहाँ ३४० स्वर्ण, ३३८ रजत र ३०२ कांस्य पदक खेलाडीले जिते ।

यसपटक बर्मुडा, कतार र फिलिपिन्सले पहिलो पटक ओलम्पिकमा स्वर्ण जित्ने इतिहास बनाए । त्यस्तै बुर्किनाफासो, सानमारिनो र तुर्कैमिनिस्तानले ओलम्पिकमा पहिलो पदक जिते। सानमारिनो पदक जित्ने सबैभन्दा सानो देश बनेको छ ।

अमेरिका ३९ स्वर्ण ४१ रजत र ३३ कांस्यसहित ११३ पदकका साथ शीर्ष स्थानमा रहँदा चीन ३८ स्वर्ण‚ ३२ रजत र १८ कांस्यसहित ८८ पदकका साथ दोस्रो स्थानमा रह्यो ।

त्यस्तै, आयोजक जापानले ओलम्पिक इतिहासमै सर्वाधिक धेरै स्वर्ण जित्यो । उसले २७ स्वर्ण १४ रजत तथा १७ कांस्यसहित कुल ५८ पदक जित्दै तेस्रो स्थानमा रह्यो । ग्रेट ब्रिटेन २२ स्वर्ण‚ २१ रजत तथा २२ कांस्यसहित ६५ पदकका साथमा चौथो स्थानमा रहँदा रसियन ओलम्पिक कमिटी २० स्वर्ण‚ २१ रजत तथा २२ कांस्यसहित ६५ पदकका साथमा पाँचौं स्थानमा रह्यो ।

त्यस्तै अस्ट्रेलिया १७ स्वर्ण‚ ७ रजत र २२ कांस्यसहित ४६ पदकका साथ छैटौँ स्थानमा रहँदा नेदरल्यान्ड, फ्रान्स, र जर्मनीले समान १० स्वर्ण हात पारे । कुल ६५ राष्ट्रले स्वर्ण पदक जित्दा १७ राष्ट्रले रजत तथा १० राष्ट्रले कांस्य मात्र जिते । सबैगरी कुल ९२ राष्ट्र पदकसहित घर फर्कँदा ११३ राष्ट्र भने पदकविहीन रहे ।

दक्षिण एसियामा भारतले बाहेक अन्य कुनैपनि देशले पदक जित्न सकेनन् । भारतले एक स्वर्णसहित कुल ७ पदक जितेको थियो । नेपालबाट ५ खेलाडी सहभागी भएका थिए । जसमा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।

समापन समारोहको सुरुवात आतेशबाजीबाट भएको थियो । त्यसपछि मैदानमा आयोजक जापानको झण्डा र सबै देशको झण्डा गोलो आकारमा देखाइएको थियो । त्यसपछि बिस्तारै खेलाडी मैदानमा आएका थिए । जुन आकर्षक देखिएको थियो ।

समापन समारोहमा टोक्योका गभर्नर यूरियको कोइके तथा आईओसीका अध्यक्ष थोमसन बाले ओलम्पिक झन्डा पेरिसका मेयर एनी हिडाल्गोलाई हस्तान्तरण गरेका थिए ।

२०२४ को ओलम्पिक पेरिसमा हुँदैछ । फ्रान्सको आइफील टावरमा ओलम्पिक झन्डा फहराइएको थियो ।

समापन समारोहमा फ्रान्सको राष्ट्रिय गान बजाइएको थियो । त्यसपछि फ्रान्सको राष्ट्रिय झन्डा फहराइएको थियो । योसँगै पेरिस ओलम्पिक २०२४ को उल्टो गन्ती शुरु भएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले एक भिडिओ सन्देशमार्फत् सबैलाई पेरिस ओलम्पिकका लागि शुभकामना दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *