नेपाल र भारत दशरथ रंगशालामा फुटबल खेल्दै

काठमाडौँ । नेपाल र भारतबीच आगामी महिना दुईवटा फुटबल खेल खेल्ने तय भएको छ । नेपाली राष्ट्रिय फुटबल टीमले भारतसँग भदौ १७ र २० मा दशरथ रंगशालामा  मैत्रीपूर्ण फुटबल खेल्ने टुंगो लागेको अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार जनाएको छ ।

नेपाल र भारत दुवै साफ च्याम्पियनसिप तथा एसिया कप छनोटको तयारीमा छन् । नेपाल र भारतबीच यसअघि १९ पटक प्रतिस्पर्धा भएको छ । जसमा भारतले १३ खेलमा जित निकालेको छ। नेपालले भारतलाई २ पटक पराजित गरेको छ ।

नेपालले पछिल्लो पटक भारतलाई २०१३ मा काठमाडौँमा भएको साफ च्याम्पियनसिपका दौरान २-१ ले पराजित गरेको थियो ।

यी दुई टीमबीच दशरथ रंगशालामा पछिल्लो पटक २०१५ मा २०१८ को विश्वकप छनौटका दौरान भेट भएको थियो । जहाँ गोलरहित बराबरी भएको थियो । अहिले दुवै टोली अक्टोबरमा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेका छन् । यद्यपि प्रतियोगिता आयोजनाको टुंगो भने लागिसकेको छैन । साफले अर्को साता हुने बैठकमा नेपाल वा माल्दिभ्समध्ये एक राष्ट्रलाई आयोजनाको जिम्मेवारी दिने सम्भावना रहेको छ ।

भारत र नेपाल दुवै एसियन कप छनौटको तेस्रो चरणमा प्रवेश गरेका छन् । भारत आफ्नो समूहमा तेस्रो तथा नेपाल चौथो हुँदै अर्को चरणमा प्रवेश गरेको थियो । छनौट चरणको खेल सन् २०२२ फेब्रुअरीमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *