अर्थको अभावमा बार्साको शिरबाट उम्किएको ताज

आफ्ना लागि सर्वस्व दिलाएको व्यक्तिलाई सधैँ सँगै राख्न पाए हुने । तर चाहेजस्तो कहाँ हुन्छ र ? यदि हुँदो हो त बार्सिलोनाले आफ्ना मुकुट मेस्सीबारे यति कठोर निर्णय किन पो गर्दो हो ?

अर्जेन्टिनाको रोसारियोबाट उड्दै गर्दा किशोर मेस्सीसँग ठूलो सपना थिएन । १७ सेप्टेम्बर २००० मा बार्सिलोना आइपुग्दा उनलाई भन्दा बढी चिन्ता उनका बुबालाई थियो । बुबासँगै पहिलो पटक बार्सिलोना पुग्दा १३ वर्षीय यी किशोर बार्सिलोनाको जुनियर टीममा सम्झौता होस् भन्ने चाहन्थे ।

बार्सिलोनाको जुनियर एकेडेमी ‘ला मासिया’मा पर्न सजिलो भने थिएन । बार्सिलोनाको तरुण एकेडेमी उनलाई राख्न तयार भयो । दुई पक्षबीच सहमति भयो र मेस्सी भर्ना भए ।

सन् २००४ मा १७ वर्षका मेस्सीले बार्सिलोनाको सिनियर टीमबाट डेब्यु गरे । त्यसपछि न त उनले पछाडि फर्केर हेर्नुपर्योस‚ न त बार्सिलोनाले नै । दुवैले जित्नुपर्ने सबै उपाधि जिते ।

मेस्सी स्वयंले पनि बार्सिलोनाबाट सबैखाले उपाधि जिते ।

गएका २१ वर्षमा मेस्सीले विश्वप्रसिद्ध खेलाडीको रुपमा आफूलाई उभ्याएनन् मात्र दर्जनौँ कीर्तिमान र उपाधि पनि भित्र्याए । उनले बार्सिलोनामा ७७८ खेलमा कीर्तिमानी ६७२ गोल गरेका छन् । जसमा च्याम्पियन्स लिगमा १२० र लालिगामा ४७४ गोल रहेको छ । यूरोपकै प्रतिष्ठित च्याम्पियन्स लिग चारपटक जित्दा १० पटक लालिगाको ट्रफी उचाले । कोपा डेल रे ७ पटक तथा युईएफए सुपर कप र क्लब विश्वकप समान ३-३ पटक जिते ।

मेस्सी स्वयंले पनि बार्सिलोनाबाट सबैखाले उपाधि जिते ।

व्यक्तिगत रुपमा पनि उनले अनेकौँ उपलब्धि हात पारेका छन् । उनी विश्वकै उत्कृष्ट खेलाडीले पाउने उपाधि बालोन डि’ओरका ६ पटकका बिजेता हुन् । उनले यूरोपकै प्रतिष्ठित ‘गोल्डेन सु अवार्ड’ (कन्नटीनेन्टल टप स्कोरर) ६ पटक जिते ।

र यी सबैभन्दा ठूलो उपलब्धि उनले विश्वका करोडौँ फुटबलप्रेमीको ढुकढुकीमा राज गरे ।

सन् २००८ मा जब पेप गार्डिओला ‘क्याम्प नोउ’ आए‚ त्यसपछि मेस्सी झनै खारिए । मैदानमा मन हर्ने किसिमले फुटबल गुडाउन र गोल गर्नकै लागि बनेका उनका गोडामा गार्डिओलाले थप पाइन हाले । अनि त के चाहियो‚ मेस्सी मैदानमा छाउन मात्र होइन‚ उपाधि नै भित्र्याउन थाले । सन् २००९ मा बार्सिलोनाले ६ वटा ट्रफी जित्यो । हो‚ त्यहीबेला त हो मेस्सीले आफ्नो पहिलो ‘बालोन डे ओर’ अवार्ड जितेको ।

ला लिगामा अत्यन्तै प्रतिष्ठाका रुपमा लिइने प्रतिस्पर्धा ईएल क्लासिकोमा रियल म्याड्रिडविरुद्ध उसैको मैदान ‘स्टाडियो सान्टियागो बर्नाबेउ’मा ६-२ को शानदार जित हात पार्दा मेस्सीको प्रदर्शन प्रभावशाली रह्यो । बार्सिलोना २०११ र २०१५ मा दुई च्याम्पियन्स लिग ट्रफी हात पार्न सफल भयो । ला लिगामा त बार्साले एकछत्र राज नै गर्योा । २०१५ देखि २०१९ सम्मका ६ सिजनमध्ये पाँचपटक लालिगाको उपाधि बार्सिलोनाले जित्यो । यो चानचुने उपलब्धि थिएन । र यी सबैमा मेस्सीको प्रभाव र प्रदर्शन उल्लेखनीय रह्यो ।

२ दशक बार्सिलोनाको जर्सीमा मेस्सी र उनको खुट्टाको जादुयी प्रदर्शन देख्दा देख्दा फुटबल समर्थकहरुलाई यस्तो लाग्थ्यो मेस्सी र बार्सिलोना एक अर्काका परिपूरक हुन् । एकबिना अर्को अधुरो र एकबिना अर्कोको परिचय अपुरोजस्तो लाग्ने ।

अर्जेन्टिनामा जन्मिए पनि स्पेन उनको दोस्रो घरसरह रहिआएको छ । उनले स्पेनको राष्ट्रिय टिमबाट खेल्न मानेनन्‚ नत्र त खेल जीवन शुरु भएपछिको धेरैजसो समय स्पेनमै बिताए ।

मेसी १ जुलाईबाटै ‘फ्री एजेन्ट’का रुपमा छन् । अर्थात् उनी अब जुनसुकै क्लबमा पनि अनुबन्ध हुन सक्नेछन् ।

तर समय सधैँ एकनास कहाँ हुन्छ र ? सँगै सुतेको साथीलाई पनि लात्ती लाग्छ भनेजस्तो बार्सिलोना र मेस्सीबीच बिस्तारै असमझदारी बढ्न थाल्यो । गतवर्ष त मेस्सी क्लब छाड्ने मनस्थितिमै पुगिसकेका थिए । तर क्लबसँगको सम्झौताका कारण छाड्न चाहेर पनि उनी क्लबमै बस्न बाध्य भए । तर, यसपटक क्लबमा नयाँ व्यवस्थापन आएपछि पाँचवर्षे सम्झौताका लागि मेस्सी तयार भएका खबरहरू पनि नआएका होइनन् । तर मेस्सीलाई बार्सिलोनामै देख्न चाहनेहरूको सपना पूरा भएन । उनले आखिर क्लब छाड्नुपर्ने अवस्था आयो नै ।

क्लबले दुवै पक्षको चाहना भएर पनि वित्तीय र संरचनागत जटिलताका कारण सम्झौता हुन नसकेको जनायो र भन्यो ‘बार्सिलोना र मेस्सी दुवैको चाहनाअनुसार नयाँ सम्झौता बिहीबार गर्ने तयारी थियो, तर वित्तीय र संरचनागत जटिलता (स्पेनीस लालिगाको नियम) ले संभव भएन ।’ क्लबको खस्कँदो आर्थिक अवस्थाका कारण खाईपाई आएको भन्दा कम पारिश्रमिकमै पनि रहन राजी भएपनि क्लबले उनलाई राखिरहन सक्ने अवस्था नरहेको बतायो र थप्यो ‘क्लबमा मेस्सीको रिक्तता कहिल्यै पूरा हुनेछैन ।’

मेसी १ जुलाईबाटै ‘फ्री एजेन्ट’का रुपमा छन् । अर्थात् उनी अब जुनसुकै क्लबमा पनि अनुबन्ध हुन सक्नेछन् ।

बार्सिलोनाले आफ्नो मुकुटलाई आफूसँगै राखिरहन नसक्नुको कारण
बार्सिलोनाले मेस्सीको थप पाँच वर्ष बार्सिलोनामै बस्ने चाहना सम्बोधन गर्न नसक्नुको कारण वित्तीय र संरचनागत अवरोध भनिएको छ । खासमा लालिगाको नियमअनुसार क्लब र खेलाडी दुवै पक्षबीच सहमति भएपनि लिगको नियमअनुसार आर्थिक रुपमा कमजोर रहेको बार्सिलोनाले मेस्सीलाई राख्न सकेन ।

मेस्सी आफूले खाईपाई आएको भन्दा आधामात्र तलब लिन तयार थिए । जुन ४ वर्षमा ४२५ मिलियन पाउन्ड हुन्थ्यो । मेस्सीले पाँच वर्षे सम्झौता गरेको भए हरेक हप्ता यसअघि पाउँदै आएको तलबमा २ लाख ५० हजार पाउन्ड गुमाउँथे । तर यति त्याग गर्दा पनि क्लबले उनलाई राख्न सकेन । क्लबमा मेस्सीको तलब कटौतीपछि उनले पाउने बराबर रकम अर्को कुनै खेलाडी बेचेर पनि पूर्ति हुन नसक्ने अवस्था आएपछि मेस्सीसँग सम्झौता असफल भयो । बार्सिलोनामा मेस्सीले यसअघिको सम्झौतामा उल्लेख गरिएको तलबको ३० प्रतिशतमात्र तलब लिएर बस्न मिल्ने अवस्था छ ।

बार्सिलोनाले केहि कम तलब भएका खेलाडीलाई पनि सस्तो मूल्यमा बेचेको छ । तर बढी मूल्य भएका स्यामुएल उम्टिटी, ओस्मान डेम्बेले, एन्टोनियो ग्रिजमनलगायत खेलाडी बेच्न उसका लागि चुनौतीको विषय बनेको छ ।

तीन सिजनअघिसम्म बार्सिलोना विश्व खेलकुदमा सर्वाधिक तलब दिने क्लब थियो । तर पछिल्लो समय बार्सिलोना ठूलो आर्थिक संकटमा परेको छ । पछिल्लो दशकबाटै क्लब आर्थिक व्यवस्थापनमा चुकेको बताइन्छ । यसैपनि आर्थिक संकटमा रहेको बार्सिलोनालाई कोरोना भाइरसले थप संकटमा धकेलेको थियो । अहिले बार्सिलोना स्पेनीस जाइन्ट क्बल रियल म्याड्रिड र एटलेटिको म्याड्रिडभन्दा पनि पछि छ ।

आर्थिक अवस्था सुधार्न बार्सिलोनाले खेलाडी बेचेरमात्र पुग्दैन । अब क्लबमा रहने खेलाडीको तलब समेत घटाउनुपर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् । लालिगाको नियमअनुसार क्लबले ट्रान्सफरबाट आएको २५ प्रतिशत रकममात्र नयाँ खेलाडी अनुबन्धमा खर्च गर्न पाउँछ । बाँकी ७५ प्रतिशत रकम भने ऋण चुक्ता गर्न खर्च गर्नुपर्नेछ । बार्सिलोना अहिले झन्डै १ बिलियन युरो ऋणमा छ । अघिल्लो सिजनको तुलनामा यो पटक क्लबले तलबमा ४० प्रतिशत कटौती गर्नुपर्ने हुन्छ ।

आर्थिक संकटकै कारण बार्सिलोनाले अनुबन्ध गरिसकेका खेलाडीलाई समेत दर्ता गर्न पाएको छैन । सर्जियो अगुएरो, एरिक गार्सिया, मेम्फिस डिपाए र एमर्सन रोयलाई बार्सिलोनाले भित्र्याए पनि दर्ता गर्न सकेको छैन । क्लबले अहिले टोलीमा रहेका खेलाडीलाई पनि तलब घटाउन आग्रह गरिसकेको छ ।

बार्सिलोनाले केहि कम तलब भएका खेलाडीलाई पनि सस्तो मूल्यमा बेचेको छ । तर बढी मूल्य भएका स्यामुएल उम्टिटी, ओस्मान डेम्बेले, एन्टोनियो ग्रिजमनलगायत खेलाडी बेच्न उसका लागि चुनौतीको विषय बनेको छ ।

यसरी आर्थिक संकटको भासमा जाकिएको बार्सिलोनाले आफ्ना मुकुट मेस्सीलाई आफूसँगै राख्न सकेन ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *