विश्व टेस्ट च्याम्पियनसीप शुरु : विदेशी भूमिमा भारतको खराब रेकर्ड

काठमाडौँ । आईसीसी विश्व टेस्ट च्याम्पियनसीपको दोस्रो संस्करण (२०२१-०२३) बुधबारबाट सुरु भएको छ ।

इंग्ल्यान्डको घरेलु मैदानमा भारतसँगको पाँच टेस्ट सिरिजअन्तर्गतको पहिलो खेलसँगै विश्व टेस्ट च्याम्पियन सुरू भएको हो । यो च्याम्पियनसीपको दोस्रो संस्करण हो । पहिलो संस्करणको उपाधि न्यूजील्यान्डले जितेको थियो । भारत उपविजेता बनेको थियो ।

टेस्ट मान्यता प्राप्त शीर्ष नौ देशबीच हुने टेस्ट सिरिजलाई च्याम्पियनसीपका रुपमा अघि बढाएको छ । दुई वर्ष चल्ने च्याम्पियनसीपमा शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् । टेस्ट टोली जिम्बावे, अफगानिस्तान र आयरल्यान्ड च्याम्पियनसीपमा सहभागी छैनन् ।

टेस्ट च्याम्पियनसीपमा एक खेल जितको १२ अंक मिल्नेछ । बराबरीमा सकिएमा ६ र ड्र भएमा चार अंक मिल्नेछ । एक टोलीले कुल ६ टेस्ट शृंखला खेल्नेछन् । जुन तीन होम र तीन अवेका आधारमा हुनेछ । यद्यपि गत संस्करणमा कोरोनाका कारण सबै टेस्ट खेल्न सम्भव नहुँदा जित प्रतिशतका आधारमा अंक दिएको थियो ।

विदेशी भूमिमा भारतलाई मुस्किल
भारत न्यूजील्यान्डसँग विश्व टेस्ट च्याम्पियनसीपको फाइनलमा पराजित भएपछि पहिलोपटक टेस्ट खेल्न लागेको छ ।

भारत पछिल्लो १० वर्षमा इंग्लिस भूमिमा सर्वाधिक धेरै पराजित भएको छ । इंग्लिस मैदानमा भएका पछिल्ला १५ टेस्टमा भारत १२ मा हार भोग्न बाध्य छ । केवल २ खेलमा जित निकालेको छ भने एक खेल बराबरी भएको छ ।

त्यसो त विदेशी भूमिमा भारतको टेस्ट रेकर्ड समग्रमा नै राम्रो छैन । भारतले अस्ट्रेलियासँग पछिल्लो १० वर्षमा १६ टेस्ट खेल्दा ८ खेलमा हार भोगेको छ । ४ खेल जितेको छ । त्यस्तै न्यूजील्यान्डसँग पनि ४ टेस्ट खेल्दा ३ खेलमा हार भोगेको छ । दक्षिण अफ्रिकामा ८ टेस्ट खेल्दा भारतले ४ मा हार र २ जितमा चित्त बुझाउन बाध्य छ ।

भारतले इंग्ल्यान्डसँग उसको मैदानमा अहिलेसम्म ६२ टेस्ट खेलेकोमा मात्र ७ वटामा जित निकाल्दा ३४ खेलमा पराजित भएको छ । बाँकी २१ खेल बराबरी भएका छन् । पछिल्लो १० वर्षमा भारतले २०११, २०१४ र २०१८ मा इंग्ल्यान्ड भ्रमण

गरेको थयो । जसमा २०११ मा भारतमाथि इंग्ल्यान्डले क्लिनस्वीप नै गरेको थियो । त्यस्तै इंग्ल्यान्डले २०१४ मा ४-१ ले र २०१८ मा ५ टेस्टको शृंखला ३-१ ले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *